काठमाडौं / तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा निर्वाचित लालकिशोर साह जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्।
मंगलबारदेखि काठमाडौंमा सुरू भएको जसपा केन्द्रीय कार्यसमिति बैठकमा साह सहभागी भएका हुन्।
जसपा नेता राजेन्द्र महतोनिकट साह तत्कालीन राजपाबाट जनकपुरको मेयरमा चुनाव लडेका थिए। राजपाबाटै उपमेयरमा निर्वाचित रिताकुमारी मिश्र भने जसपा केन्द्रीय समिति बैठकमा भने उपस्थित भएकी छैनन्।
केही दिनअघि महन्थ ठाकुर पक्षले जनकपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामासमेत मेयर साह सहभागी थिएनन्।
निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि पछिल्लो समय जसपाका नेता कार्यकर्ताहरू ध्रवीकृत भएका छन्।
आधिकारिकता विवादपछि महन्थ पक्षीय अधिकांश नेता कार्यकर्ताहरू जसपाले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुन छोडेका छन्।
मंगलबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकबाट सहभागी हुने नहुने केन्द्रीय सदस्यहरूको परीक्षण हुने जसपा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए।
पार्टी एकीकरण भएको १६ महिनापछि जसपा केन्द्रीय समितिको पहिलो बैठक मंगलबारदेखि सुरू भएको हो। पार्टी संगठन सुदृढीकरण, जनजागरण तथा अभिमूखीकरण अभियानको नारा दिएर सुरू भएको केन्द्रीय समिति बैठक बुधबार सकिँदैछ।
प्रतिक्रिया दिनुहोस्