बागमती – नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) ले मधेस प्रदेशमा ३२ हजार सदस्यता वितरण गर्ने भएको छ ।
सर्लाहीको बागमतीस्थित बागमती नगरपालिकाको सभा हलमा सम्पन्न वाइसिएल मधेस प्रदेश समितिको विस्तारित बैठकले आउँदो स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी मधेस प्रदेशका ३२ वटा निर्वाचन क्षेत्रमा वाइसिएलको एक÷एक हजार सदस्यता वितरण गर्ने निर्णय गरेको हो । बैठकले पालिकाहरुमा संगठन विस्तार गर्ने, प्रदेश तथा संघीय निर्वाचन क्षेत्रमा युवा परिषद् गठन गर्ने निर्णय पनि गरेको वाइसिएल मधेस प्रदेशका संयोजक सन्देश श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार बैठकबाट फागुन १ गते प्रत्येक जिल्लामा जनयुद्ध दिवस मनाउने र प्रत्येक जिल्लाहरुमा आइटि विभाग समेत गठन गर्ने निर्णय भएको छ । संयोजक श्रेष्ठकै अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशीखा) को प्रमुख आतिथ्यतामा बसेको बैठकमा वाइसिएलका केन्द्रीय संयोजक सुमन देवकोटा, संगठन विभाग प्रमुख कसम गुरुङ, माओवादी केन्द्रको मधेस प्रदेशका अध्यक्ष प्रल्हाद बुढाथोकी ,मधेश प्रदेश वाईसिएल इन्चार्ज शंकर महतो लगायतको उपस्थिति रहेको थियो ।
























