काठमाडौं । समाजवादी विद्यार्थी युनियन, नेपालले २०६२/६३ को ऐतिहासिक मधेश जनबिद्रोह तथा जनआन्दोलनका प्रथम महान सहिद वीर सहिद रमेशकुमार महतोको बलिदानी दिवस विविध कार्यक्रमसहित मनाउने भएको छ।
युनियनको केन्द्रीय समिति, बालकुमारी ललितपुरले जारी गरेको सूचनाअनुसार सहिद महतोको स्मृति, आदर्श र बलिदानलाई उच्च सम्मान गर्दै भावी पुस्तामा लोकतान्त्रिक चेतना, सामाजिक न्याय र देशप्रतिको जिम्मेवारीबोध अभिवृद्धि गर्ने उद्देश्यले बलिदानी दिवस मनाउन लागिएको हो।
सूचनामा संघीय लोकतान्त्रिक गणतन्त्र, समानता तथा सामाजिक न्याय स्थापनाका लागि सहिद महतोले देखाउनुभएको अद्वितीय साहस, त्याग र सर्वोच्च बलिदान नेपाली इतिहासमा अमर रहने उल्लेख गरिएको छ। मधेशी, आदिवासी जनजाति, दलित, पिछडावर्ग, मुस्लिम, अल्पसंख्यक तथा सीमान्तकृत समुदायको अधिकार, पहिचान र प्रतिनिधित्व सुनिश्चित गर्न उहाँले पुर्याउनुभएको योगदान आजको पुस्ताका लागि प्रेरणाको स्रोत भएको युनियनले जनाएको छ।
केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, एकाइ समिति तथा मातहतका सम्पूर्ण समितिहरूलाई आ–आफ्नो स्थानमा कार्यक्रम आयोजना गरी बलिदानी दिवस श्रद्धापूर्वक मनाउन आग्रह गरिएको छ।
समाजवादी विद्यार्थी युनियन, नेपालका केन्द्रीय अध्यक्ष मनिष कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा सबै तहका समितिहरूलाई सक्रिय सहभागिता र सहयोगका लागि हार्दिक अनुरोध गरिएको छ।

























