आमिन राईन / अषाढ २१ गते
जनकपुरधाम धनुषाको बटेश्वर गाउँपालिका-२ का दलबहादुर आलेको आइतबार राति दुर्घटनामा परी मृत्यु भएको छ।
आइतबार राति ११ बजे बटेश्वर बजारबाट घर फर्किने क्रममा आलेले चलाएको बा.५२ प. ४२८३ नम्बरको मोटरसाइकल रमौली टोल नजिक दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका आलेलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको वटेश्वर प्रहरी चौकीले जनाएको छ।
प्रहरीका अनुसार उनले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरेर तीव्र मोटरसाइकल चलाउँदा दुर्घटना भएको हो। उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको छ।
























