काठमाडौं । सोमबार पेशागत महासंघ नेपालद्वारा अयोजित राष्ट्रिय समितिको विस्तारित बैठकमा बोल्दैनेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद बैठक अवरुद्ध गरेर नाराबाजी गर्ने नेकपा एमालेका सांसदहरुलाई ‘कुसन्तान’को संज्ञा दिएका छन् । सोमबार पेशागत महासंघ नेपालद्वारा अयोजित राष्ट्रिय समितिको विस्तारित बैठकमा बोल्दै संसद बैठक अवरुद्ध पार्दै आएका सांसदहरुलाई कुसन्तानको संज्ञा दिएका हुन् ।
उनले भने, ‘अरुको काँधमा चढेर, माइक खोस्दै नाक भाँचिदिन्छु भनेर कसरी उफ्रेका होलान् ! कस्ता सन्तान जन्माएछन् ! कस्ता मान्छे बनाएछन् । कस्तो कुरा सिकाएछन् । कस्तो भाषा प्रयोग गर्छन् । तपाइहरुले सुन्नुभयो भने कसैले भन्छन् आँखा मिचेर हेर्नै मन लाग्दैन किन यस्तो भएको होला । राम्रो मान्छे भए पो !’
संसद विघटन गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (५) पढ्न अध्यक्ष नेपालले भनेका छन् । साथै, संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन भएन भनेमात्र चुनाव हुन सक्ने पनि उनले बताए ।
उनले भने, ‘सर्वाेच्च अदालको फैसला पढेको छैन । सर्वाेच्च अदालतले प्रष्ट व्याख्या गरेको छ– प्रतिनिधिसभा विघटन गर्न पाइँदैन । संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन भएन भनेमात्र चुनाव हुन सक्दछ । प्रतिनिधिसभा विघटन हुन सक्दछ त्यसबाहेक कसैलाई प्रतिनिधिसभा विघटन गर्न पाउँदैन भनेर प्रष्ट लेखेको र व्याख्या गरेको पढेको छैन र ?’
एमालेबाट छुट्टिएर गइसकेपछि पनि आफूहरुविरुद्ध किन नाराबाजी गर्नुपर्यो भन्दै उनले प्रश्न गरेका छन् । आफूहरु एमालेबाट छुट्टिएर गइसकेपछि एमाले सांसदहरु संसदमा कराउनुको कुनै अर्थ नरहेको पनि उनले बताए ।
उनले भने, ‘आज हामी सुनिरहेका छौँ चोइटिएर केही मान्छेहरु गए, हाइसञ्चो भयो । यो साँच्चै हो भने त त्यो संसदमा नारा किन लगाउनुपर्यो हाइसञ्चो भएको मान्छेले ? कति छन्, ९ प्रतिशत छन्, २ प्रतिशत छन्, पिलो निचरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिनै किन त्यहाँ कराउनुपर्ने स्थिति बनेको छ संसदमा ? बरु सभामुखलाई भन्नुपर्ने यो पिलो त्यहीँ रहोस् । हामीले निचोरेर राखेको पिलो त्यहीँ राख्नुस् भन्नुपर्ने होइन । कमसेकम त्यति राख्दिनुस् फर्केर आउँलान् भन्नुपर्ने होइन । ढोका बन्द भनेको, पार्टी फोड्न पाइदैन । पार्टी कसैको रहर हुन्छ फोड्न ?’यसैगरी प्रदेश १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने पनि उनले बताएका छन् । नयाँ बन्ने सरकारलाई स्वागत गर्न तयार रहन पनि उनले आग्रह गरे ।उनले भने, ‘अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरु स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहन्छु ।’
प्रतिक्रिया दिनुहोस्