गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल बनाउन सम्भव रहेको बताएका छन्।गोरखाको पालुङटारमा चौथो मिरकोट कोटगढी महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।नेपालीहरूले नै नेपाल बनाउने हो भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने उनको भनाइ छ।
अध्यक्ष प्रचण्डले भने, ‘जल, जमीन, जंगल, जडीबुटी, जनशक्ति सबै हिसाबले नेपाल प्रचुर सम्भावना बोकको देश हो नेपाल। तर एकथरि मानिसले देशमा केही पनि छैन, कोही गतिलो नेता छैन, गतिलो पार्टी छैन भन्ने गलत भाष्य निर्माण गर्न थालेको देखिन्छ। यो सही होइन, स्पष्ट दृष्टिकोणका साथ काम गर्ने हो भने हाम्रै जीवनमा परिवर्तन सम्भव छ भन्ने हामीले धेरै क्षेत्रमा थालनी गरेका छौं। यसलाई आगामी दिनमा अझ बढाएर लैजान आवश्यक छ।’
आफूले सरकारको नेतृत्व गर्दा महत्वपूर्ण कामको थालनी गरेर नेपाली जनतालाई आशावादको बाटोमा अघि बढाउन सफल भएको उनले दाबी गरे।सरकारले नेतृत्व गर्दा जलविद्युत विकासमा योगदान गरेको उनले बताए । उनले गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रक्रिया थालनी गरेर उनीहरूले आर्जन गरेको रकम नेपालमा लगानी गर्ने वातावरण बनाएको पनि बताए।
जनताले आफ्ना छोराछोरीलाई आफ्नै माटोमा केन्द्रित गर्ने गरी सोच्ने र राज्यले योजनाबद्ध पहल अघि बढाउने हो भने केही वर्षभित्र नेपाललाई सम्पन्न देश बनाउन सकिने प्रशस्त आधार रहेको उनले बताए।
























