झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको संविधान पूर्ण कार्यान्वयन गरेर पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताएका छन् ।
जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत झापाको कचनकवल गाउँपालिका–३ आमबाडीमा आयोजित सहिद परिवार तथा आदिवासी अगुवाहरुको भेटघाटमा सोमबार अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले संविधानमा उल्लेखित स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको अवधारणा कार्यान्वयन गर्दा धेरै हदसम्म पहिचानको मुद्दा सम्बोधन गर्न सकिने उल्लेख गरे ।
कोच, शेर्पालगायत धेरै समुदायको पहिचान सम्बोधन गर्न सबैभन्दा पहिले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने र त्यसो गर्दा पनि सम्बोधन नभए संविधान संशोधनमार्फत अघि बढ्नुपर्नेमा उनको जोड छ । जसरी पनि संविधान बनाउनुपर्ने बाध्यताका कारण पार्टीले अघि बढाएका पहिचानसहितका महत्त्वपूर्ण एजेन्डालाई जस्ताको तस्तै अघि बढाउन नसकेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अब पार्टीले उत्पीडित वर्ग र समुदायको एजेन्डा प्राथमिकताका साथ उठाउने बताए ।
बीचमा आफ्नो वर्ग र समुदायसँग टुटेको कडी जोड्न पार्टीले अभियान सुरु गरेको उनको भनाइ छ । अहिले उत्पीडित समुदायले पाएको अधिकारलाई माओवादीले पाएजस्तो देख्ने र यसलाई जति सकिन्छ धेरै खोस्ने प्रयासमा एकथरी शक्ति लागेको आरोप प्रचण्डले लगाए ।
प्रतिक्रिया दिनुहोस्