वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले निर्धारित समयभन्दा अगाडि नै चुनाव हुने सम्भावना रहेको भन्दै आफ्ना नेता–कार्यकर्ताहरुलाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् ।
दीपावली तथा छठ पर्वको अवसरमा वीरगन्जको टाउन हलमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै यादवले उक्त निर्देशन दिएका हुन् ।
‘निर्धारित समयभन्दा पनि पहिले चुनाव हुने सम्भावना छ,’ यादवले भने, ‘राजनीतिक सहमति भयो भने चाँडै चुनाव हुनेछ । तपाईँहरु अहिलेदेखि नै चुनावको तयारीमा जुट्नुहोस् ।’ यादवले आफ्नो पार्टी गरिब, विपन्न, मधेसी, विछडावर्ग, आदिवासी, जनजाति, महिला, मुस्लिमलगायत पिछडिएका समुदायको पार्टी रहेको समेत बताए ।
साथै पार्टीमा कात्तिकदेखि माघसम्म ४ महिना शुद्धीकरण अभियान सुरु गरेको पनि जानकारी दिए । वडास्तरदेखि कार्यकर्ताहरुको प्रशिक्षण, शुद्धीकरण तथा आगामी चुनावमा कस्ता उम्मेद्वारलाई जनप्रतिनिधिको रुपमा अघि सार्ने भन्नेबारे जिल्ला तहका नेताहरुले तयारी अगाडि बढाउनुपर्ने यादवको भनाइ थियो ।
यसै क्रममा यावदले प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने बताए । यसबिना र समानुपातिक निर्वाचन प्रणालीबिना देश विकास नहुने उनको भनाइ थियो । पैसामा टिकट किनेर चुनाव लड्नेहरू हाबी हुँदै गएकाे भन्दै उनले चिन्ता समेत जाहेर गरे । ‘जनताले चुन्न पाउने कार्यकारी राष्ट्रपति आए भने चुनावमा नेताले खर्च गर्ने बाटो नै बन्द हुन्छ । अनि विशुद्ध राजनीतिकर्मीले मात्रै स्थान पाउँछन्,’ यादवले भने, ‘मलाई अहिलेदेखि नै फोन आउन सुरु भइसकेको छ– पैसा जम्मा पारिसकेँ, आगामी चुनावमा टिकट चाहियो भनेर ।’
मुलुकमा संघीयता लागू भएपछि व्यवस्था मात्र बदलिएको तर समाजको मानसिकता र नेताहरुको चिन्तन नबदलिएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्