काठमाडौं । तीन दिनअघि लक्ष्मीपूजाका दिन जुवाखालबाट पक्राउ परेका नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामालाई भेट्न नेकपा एमालेका नेता पार्वत गुरुङ अस्पतालमा पुगेका छन् । पूर्व संचार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका गुरुङ जुवाखालबाट पक्राउ परेका र चिकित्सकको सिफारिसमा जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना भएका लामालाई भेट्न शनिबार पुगेका छन् । भेटका क्रममा गुरुङले लामालाई सान्त्वना दिनुका साथै स्वास्थ्यलाभको कामना समेत गरेका थिए । गुरुङका साथमा भीमेश्वर नगरपालिकाका मेयर भरत केसी लगायत पनि लामालाई भेट्न अस्पताल पुगेका थिए । सुगरको तह धेरै माथि पुगेपछि उनलाई महानगरीय प्रहरी बृत्त बौद्धले अस्पताल भर्ना गरेको छ ।
नयाँबस्ती, ओलाङचुङगोला गुम्बा अगाडि सागर लामाले कोठा भाडामा लिई कौडा खेल्न लगाएको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो । छापा मार्ने क्रममा कांग्रेस दोलखाका सभापति लामासहित १८ जनालाई महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ गरेको थियो । प्रहरीले जुवा अखाडाबाट ६ लाख ३२ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको थियो ।
लामालाई अस्पताल भर्ना गरेपछि प्रहरी निगरानी हुन्छ । तर गृहमन्त्री कांग्रेसकै भएको र अस्पतालबाट तत्काल डिस्चार्ज हुने संभावना समेत कम भएकाले उनलाई सोमबार हाजिर हुनेगरी प्रहरीको ड्युटी हटाइएको छ । एक किसिमले उनी प्रहरीबाट रिहा नै भएको अर्थमा लिइएको छ । यद्यपि लामासँगै जुवा खालबाट पक्राउ परेका अरु १७ जना भने थुनामै छन् । लामाले अस्पतालबाटै सामाजिक संजालमा जुवाखालबाट पक्राउ परेको बिषयलाई लिएर लेखेका छन्– ‘कुकुरहरु भुक्तै गर्छन्, हात्ती लम्कदै गर्छ ।’
























