चितवन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरूले आफ्नो आचरण व्यवहारमा नम्रता देखाउनुपर्ने तर कानुन कार्यान्वयनमा कुनै सम्झौता नगरी नागरिकमैत्री व्यवहार प्रदर्शन गरी काम गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रहरी शिक्षालय भरतपुरमा सञ्चालित विभिन्न उन्नत तथा आधारभूत तालिममा तालिमरत प्रशिक्षार्थी, प्रशिक्षक वर्ग साथै चितवन जिल्लास्थित विभिन्न प्रहरी इकाईका प्रमुखहरूलाई सोही शिक्षालयमा मङ्गलवार निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनु भएको हो ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शिक्षालयमा सञ्चालित विभिन्न तालिममा सहभागी प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी जस्तो गर्व गर्न लायक सेवामूलक पेसा छनौट गरेकोमा बधाई तथा धन्यवाद दिँदै नेपाल प्रहरी सेवाको निष्ठा र मर्यादालाई मनन गरी बद्लिँदो परिवेश तथा चुनौतीलाई सामना गर्न आफ्ना जिम्मेवारी र उत्तरदायित्वप्रति कटिबद्ध भई निष्पक्षरुपमा नागरिक सेवामा कटिबद्ध हुन निर्देशन दिनुभयो । प्रशिक्षण प्रदायक संस्थाहरूमा कार्यरत प्रशिक्षक वर्गले नव आगन्तुक प्रशिक्षार्थी प्रहरी कर्मचारीहरूमा निहित व्यक्तिगत सृजनशीलतालाई यावत रहन दिनुपर्ने तथा असल प्रशिक्षकले मात्र असल जनशक्ति उत्पादन गर्न सक्ने हुँदा प्रत्येक प्रशिक्षक आफैमा आदर्श हुनुपर्ने उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कर्तव्यपालनको सिलसिलामा आउन सक्ने विभिन्न आरोह अवरोहहरूलाई पेसागत निष्ठा र धर्म अनुसार सामना गर्दै व्यक्तिगत आचरण र व्यवहारमा समय सापेक्ष सुधार गरी आफ्नो तह अनुसारको जीवन जिउने शैली अनुशरण गरेमा मात्र प्रहरी पेशालाई गौरवशाली बनाउन सकिने बताउनुभयो । प्रत्येक प्रहरी कर्मचारीहरूले पारिवारिक जीवन र पेसागत जीवनमा सामञ्जस्यता मिलाई प्रभावकारी र नतिजामूलक कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रहरी व्यवहार निष्पक्ष र यथोचित हुनुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भन्नुभयो, “प्रहरी पोशाक र पेशाप्रति स्वाभिमानी हुन सिक्नुस् ।” हरेक काम कारबाहीमा पारदर्शी भई शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी सङ्गठनको नीति विपरीत काम गर्ने जो कोही कारबाहीको भागिदार हुने उहाँले बताउनुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी शिक्षालय भरतपुर परिसर, कार्यालय तथा आवस गृहको निरीक्षण समेत गर्नुभएको थियो ।
उक्त अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्की, उक्त शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार केसी लगायत अन्य प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्