जनकपुरधाम, भदौ २५ — मधेश प्रदेश सभाको प्रदेश मामिला समितिको आयोजनामा “विपद् व्यवस्थापन ऐन, २०७५ को उत्तर विधायिका परीक्षण तथा सरोकारवालासँग परामर्श” कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मधेश प्रदेश सभाका सभामुख माननीय रामअशिष यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने कार्यक्रमको अध्यक्षता प्रदेश मामिला समितिका सभापति रत्नेश्वर लाल गोइत ले गर्नुभएको थियो। कार्यक्रम UNDP को सहयोग तथा उन्नत नेपाल को समन्वयमा आयोजना गरिएको हो।
कार्यक्रममा विपद् व्यवस्थापन ऐन, २०७५ को कार्यान्वयन अवस्था, प्रभावकारिता, देखिएका चुनौती तथा सुधारका आवश्यक पक्षबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले प्राकृतिक तथा मानवसिर्जित विपद्का घटनामा प्रभावकारी व्यवस्थापन, पूर्वतयारी, उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा आफ्ना धारणा राखेका थिए।
कार्यक्रमका प्रशिक्षक सुमन कर्ण ले विपद् व्यवस्थापन ऐन, २०७५ का प्रमुख व्यवस्था, यसको कार्यान्वयन अवस्था, उत्तर विधायिका परीक्षणको महत्व तथा ऐनमा देखिएका चुनौतीहरूबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन कानुनी तथा संस्थागत संरचनालाई समयानुकूल सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
प्रमुख अतिथि सभामुख रामअशिष यादव ले विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन ऐनको समयानुकूल समीक्षा तथा आवश्यक संशोधन अपरिहार्य रहेको बताउनुभयो। उहाँले जनप्रतिनिधि, सरोकारवाला निकाय र नागरिक समाजबीचको सहकार्यले मात्र विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रदेश सभा सदस्यहरू, सरकारी निकायका प्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज, विज्ञ तथा विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले ऐनको प्रभावकारी कार्यान्वयनका लागि प्राप्त सुझावहरूलाई आगामी नीतिगत सुधारका आधारका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका थिए।












प्रतिक्रिया दिनुहोस्