जनकपुरधाम, २२ फागुन । मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले जिल्ला समन्वय समितिलाई पंगु बनाएको आरोप लगाउनुभएको छ ।
जिल्ला समन्वय समिति महासंघ प्रदेश २ ले आयोजना गरेको प्रदेशस्तरीय विस्तारित भेलालाई शनिबार सम्बोधन गर्नुहुँदै उहाँले संविधानले दिएको अधिकारसमेत संघीय सरकारले कार्यान्वयन नगरेर जिल्ला समन्वय समितिहरुलाई कामविहीन बनाएको जिकिर गर्नुभयो ।

साबिकको जिविसलाई जिल्ला समन्वय समितिको नाउँमा व्युतायोे, उहाँले भन्नुभयो– तर काम दिएन् ।
संविधानको धारा २२० मा दिएको अधिकार समेत संघीय सरकारले पालना नगरेर जिल्ला समन्वय समितिलाई पंगु बनाएको मुख्यमन्त्री राउतको भनाई थियो ।
संविधानले दिएको अधिकार लिनको लागि जिल्ला समन्वय समिति महासंघलाई थप सक्रिय भएर अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।
दलमुखि भएर अधिकार पाइदैन, उहाँले भन्नुभयो–अधिकारको लागि सबैजना मिलेर अघि बढ्नुपर्छ ।
संघीयता विरोधी मानसिकता भएकाहरु संविधानले दिएको अधिकारसमेत कटौती गर्नमा लागेको मुख्यमन्त्री राउतको भनाई थियो ।
प्रदेश २ ले जिल्ला समन्वय समितिलाई सबैभन्दा बढि अधिकार दिएको जिकिर गर्नुहुँदै उहाँले यसको लागि आलोचना समेत खेप्नुपरेको सुनाउनुभयो ।
संघीय सरकारले स्थानीय तहलाई उपलब्ध गराउने बजेट र बालुवा गिट्टीबाट उठ्ने रोयल्टी जिल्ला समन्वय समितिमार्पmत स्थानीय तहलाई वितरण हुनुपर्ने धारणा मुख्यमन्त्री राउतले राख्नुभयो ।
जिल्ला समन्वय समितिलाई जिम्मेवारी दिएर सक्रिय बनाउनुपर्ने मुख्यमन्त्री राउतले बताउनुभयो ।
एक फरक प्रसंगमा मुख्यमन्त्री राउतले सर्वोच्चको पैmसलाले संघीयतालाई थप बलियो बनाएको दावी गर्नुभयो ।

जिल्ला समन्वय समिति महासंघ प्रदेश २ का अध्यक्ष सुरेश प्रसाद सिंहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेशसभा सदस्य रानी शर्मा लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा जनता समाजवादी पार्टी, नेपाल महोत्तरीका अध्यक्ष नागेन्द्र यादव, जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र, बलवा नगरपालिकाका मेयर बिनोद यादव, एकडारा गाउँपालिकाका अध्यक्ष रामछविला साह, नेपाल पत्रकार महासंघ महोत्तरीका सभापति कमलेश मण्डल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।











