काठमाडौं । धनुषाको ढल्केबरमा बनेको ४०० केभी ढल्केबर सबस्टेसन फूल लोडमा चार्ज भएको छ । योसँगै ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन पनि ४ सय केभीमा सञ्चालन हुन थालेको छ । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले यसलाई महत्वकांक्षी परियोजनाका रुपमा अघि बढाएका थिए ।
मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि यो सबस्टेसन र प्रसारणलाइन महत्वपूर्ण मानिएको छ । जीआईएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम सकेर प्रसारणलाइन पनि पूर्ण लोडमा चार्ज गरिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।
मुलुकभित्र पूर्व-पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि अब ढल्कबेर सबस्टेसन ठूलो हब बन्ने छ । योसँगै नेपाल-भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात-निर्यातका लागि पूर्वाधार तयार भएको छ ।
साथै ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रुपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ ।
सबस्टेसनमा रहने ट्रान्सर्फमहरको क्षमता ९४५ केभी छ, २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको विद्युतलाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ ।
वर्षायाममा बढी भएको खण्डमा ढल्केबर-मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ । हिउँदमा आवश्यक परेमा न्यूनतम ६०० मेगावाट आयात गर्न सकिन्छ भने दुई मुलुकबीच ठूलो परिमाणमा विद्युत ब्यापार गर्न बाटो खुलेको छ । ढल्केबर-मुजफ्फपुर क्रसबोर्डर प्रसारण लाइन अहिलेसम्म २२० केभीमा सञ्चालनमा थियो ।
माथिल्लो तामकोसीबाट पुसभित्रमा विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । आयोजनाबाट उत्पादित विद्युतलाई दोलखाको गोंगरबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खिम्ति हुँदै ढल्केबर ल्याइने छ । यसका लागि आयोजनाले गोंगर-खिम्ती प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुर्याएको छ । खिम्ती-ढल्केबर प्रसारण लाइन यसअघि नै सञ्चालनमा आइसकेको छ ।
सबस्टेसनमा ३१५एमभीएका तीन वटा गरी ९४५एमभीए क्षमताको ट्रान्सर्फमर छन् । जसले करिब नौ सय मेगावाट विद्युतलाई सहजै प्रसारण गर्न सक्दछन् ।
नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब चार अर्ब रुपैयाँ लगानीमा बनेको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । ग्याँस इन्सुलेटेड सबस्टेसन -जिआईएस) प्रविधियुक्त यो सबस्टेसन स्वचालित भएकोले काठमाडौको स्यूचाटारमा रहेको प्राधिकरणको भारप्रेषण केन्द्रबाटै सञ्चालन र अनुगमन गर्न सकिन्छ । यसले माग र आपूर्तिको सन्तुलन कायम गर्न वैज्ञानिक प्रणाली निर्माण भएको छ ।
करिब १९ विघा जमिनमा फैलिएको यो सबस्टेसनमा संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेश्रो र प्राधिकरणले खोटाङमा निर्माण गर्न लागेको ६३५ मेगावाट दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको प्रसारण लाइन पनि आएर जोडिने छ ।
४००/२२० केभी सबस्टेसन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी एबीबी लिमिटेडबीच १० फागुन २०७४मा ठेक्का सम्झौता भएको थियो । आयोजनाको परामर्शदाताको काम नेपाली कम्पनी एनईए इन्जिनियिरिङले गरेको थियो । नेपालको वाइबा इन्फ्राटेकले पनि आयोजनामा एबीबीसँग सहकार्य गरेको थियो ।
प्राधिकरणले २२०/१३२ केभीको सबस्टेसन बनाउन सेन्ट्रल चाइनापावर गि्रड (सिसिपिजी)सँग १२ जुन २०१४मा हेटौडा, ढल्केबर र इनरुवामा सबस्टेसन बनाउन ठेक्का सम्झौता गरेको थियो । तर, सन्तोषजक रुपमा काम नभएपछि सीसीपिजीसँगको ठेक्का २२ सेप्टेम्बर २०१७ मा तोड्न प्राधिकरण बाध्य भएको थियो । त्यसपछि ढल्केबर सबस्टेसनको बाँकी रहेको काम गराउन टेण्डर गरी जनबरी २०१८मा ठेक्का सम्झौता गरेको थियो । ततकालीन कार्यकारी निर्देशक कुलमान घिसिङले नै ४ सय केभीमा विस्तारको योजना बनाएर काम सुरु गरेका थिए ।
विश्व बैकको नेपाल-भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत २२०/१३२ केभीको सबस्टेसन निर्माण गरिएको थियो भने ४००/२२० केभी नेपाल सरकारकै स्रोतबाट निर्माण गरिएको हो ।
योजना अनुसर काम सकिएकोमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्