काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूबीच मंगलबार छलफल भएको छ। पार्टी कार्यालय बालकुमारीमा जसपाका शीर्ष नेताहरुबीच छलफल भएको हो।
जसपा नेता डा. सुरेन्द्र झाका अनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्था र कार्यकारिणी बैठक बस्नेबारे छलफल छ। उनले भने, ‘बैठक चाहिँ होइन। बैठक कहिले बोलाउने भन्ने विषयमा छलफल भयो।’ उनका अनुसार, छलफलमा शीर्ष नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए।
वर्तमान सरकार परिवर्तन गर्ने वा कायमै राख्ने भन्नेमा जसपाले प्रस्ट निर्णय गर्न सकेको छैन। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा रहेको नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले पनि जसपाको निर्णय कुरेर बसेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्ने र नयाँ सत्ता गठबन्धन बनाएर जानुपर्ने विषयमा जसपा भित्र दुई धार छ। ठाकुर र महतो ओली सरकारले आफ्ना माग पूरा गर्ने प्रक्रिया अघि बढाइसकेकोले मिलेर जानुपर्ने अडानमा छन्। तर, अध्यक्ष यादव र डा. भट्टराई नयाँ गठबन्धन बनाउनुपर्ने पक्षमा उभिएका छन्।
यता काँग्रेसले अझै अविश्वासको प्रस्तावको लागि संख्या नपुगेको बताउँदै आएको छ। अहिलेको अवस्थामा निर्णायक देखिएको जसपाले सरकार गठनबारे निर्णय लिन नसक्दा राजनीति अन्योल थप लम्बिएको छ। सम्भवतः जसपाले यस विषयमा आज भोलिमा निर्णय लिने अपेक्षा गरिएको छ। जसपा नेता मोहम्मद इस्तियाक राईका अनुसार आइतबारदेखि स्थगित कार्यकारिणी बैठक पनि आज वा भोलि बस्ने तयारी छ।
प्रतिक्रिया दिनुहोस्