बुटवल । लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिनुभएकाे छ । प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिनुभएकाे हाे ।मुख्यमन्त्री पोखरेलले केहीबेर अघि प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा दिएको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ ।
प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा दिएको बताइएको छ ।मुख्यमन्त्री पोखरेलका विरुद्ध गत वैशाख ६ गते प्रदेश सभा सचिवालयमा नेपाली कांग्रेस, माओवादी र जसपाका ५ नेतासहित ४१ जनाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेका थिए । तर हस्ताक्षर गरेकामध्ये जनता समाजवादीका ३ सांसद भने मन्त्री बनिसकेका छन् ।दाङ २ (क) बाट चुनाव जितेका पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बन्नु भएकाे थियाे ।
२०७४ मा प्रदेश सरकार बनेपछि पहिलो पटक मुख्यमन्त्री पोखरेलको सरकार ढलेको हो। पोखरेल एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र हुन् ।यसअघि कर्णाली प्रदेशमा एमालेकै ४ सांसदले फ्लोर क्रस गरेपछि माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद सुरक्षित बनेको थियो । लुम्बिनीमा पनि सोही क्रम दोहोरिनसक्ने सम्भावना कायमै छ ।
प्रतिक्रिया दिनुहोस्