जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) र नेपाली काँग्रेसबीच सत्ता सहकार्यका लागि सहमति भएको छ ।
सहमतिसँगै अब प्रदेश २ मा जसपा (यादव पक्ष) नेतृत्वको सरकारमा काँग्रेस र माओवादी केन्द्र सहभागी हुने निश्चित भएको छ । आज भएको सहमति अनुसार काँग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुनेछन् ।
प्रदेश २ सरकारमा १० वटा मन्त्रालय रहनेछन् । त्यसमध्ये पाँचवटा मन्त्रालय जसपाले राख्ने र बाँकी पाँच वटामा तीनवटा काँग्रेस र दुईवटा माओवादी केन्द्रले लिने सहमति भएको जसपा नेपाल प्रदेश २ का एक प्रदेशसभा सदस्यले जानकारी गराए ।
जसपा उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षका एकजना मन्त्री र तीनजना राज्यमन्त्रीलाई सरकारबाट निलम्बन गरेपछि काँग्रेस र माओवादी केन्द्रसँग सत्ता सहकार्य गरेको हो ।
यो सहमतिका लागि दुवै पक्षबाट छ सदस्यीय कार्यदल गठन भएको थियो । विहान एकपटक कार्यदलको पुनः बैठक बस्नेछ भने सहमतिलाई अन्तिम रुप दिइ सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।
त्यसपछि साँझमा नवनियुक्त मन्त्रीको शपथ हुने बताइएको छ । स्रोतका अनुसार काँग्रेसबाट रामसरोज यादवको नेतृत्वमा र माओवादी केन्द्रबाट भरत साहको नेतृत्वमा सरकारमा सहभागी हुने बताइएको छ ।
यसअघि मन्त्रालयलगायतका विषयमा काँग्रेससँग विभिन्न चरण छलछल भएपनि ठोस सहमति हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस्