काठमाडौं : काठमाडौंको रत्नपार्कस्थित आकाशेपुलको भित्तामा फ्रन्टलाइनरको सम्मानमा कलाकारले बनाएको चित्र हटाएकोमा नेपाली कांग्रेसले विरोध जनाएको छ ।
कोरोनाविरुद्धको लडाईमा अग्रमोर्चामा रहेर काम गरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापनमा खटिएका व्यक्ति र सरसफाइकर्मीको सम्मानमा कलाकारले बनाएको चित्र महानगरले हटाएपछि कांग्रेसले विरोध जनाएको हो ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै महानगरसँग लिखित अनुमति लिएर फ्रन्टलाईनमा जुधिरहेकाको सम्मानमा चित्र बनाउँदा प्रशंसा गर्नुको साँटो मेटाउनुले फ्रन्टलाइनरकै अपमान गरेको दावी गरे ।
‘काठमाडौको अनेक स्थानमा थुप्रिएका फोहोरले होइन त्यो चित्रले शहरको सौन्दर्यमा असर गरेको थियो ? महानगर स्वयंले चित्र निर्माण गर्ने योजना हो त के त्यो एउटा चित्रले शहरका सबै पर्खाल ओगटेको थियो ? यस्तो आवेगयुक्त र अपमानजनक ब्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित छ ?,’ प्रवक्ता शर्माले प्रश्न गरे ।नेपाल विद्यार्थी संघका नेता डुजाङ शेर्पाको परिकल्पना कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले एक हप्ताको समय लगाएर फ्रन्टलाइनरको सम्मानमा भित्तामा चित्र बनाएका थिए ।
तर महानगरपालिकाले नयाँ चित्र बनाउने भन्दै कलाकारले बनाएको चित्र मेटिदिएको हो । महानगरले लाखौं रुपैयाँ खर्च गरेर काठमाडौंको सम्भयता झल्कने गरी नयाँ चित्र बनाउने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्