काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको १८ दिनसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिनसकेका छैनन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच मन्त्रालयको भागबण्डा टुंगिएको छ । तीन पार्टीबीच मन्त्रालयको भाग लगाइए पनि कुन कुन मन्त्रालय कसले पाउने भन्ने बिषयमा विवाद छ । सबैभन्दा बढी विवाद परराष्ट्र मन्त्रालयका लागि छ ।
जसपा अध्यक्ष उपेन्द्र यादव परराष्ट्र मन्त्रालयसहित उपप्रधानमन्त्रीका लागि लागेका छन् । परराष्ट्र मन्त्रालय जसपाको भागमा पार्ने र आफैं सरकारको नेतृत्व गर्ने दाउमा उपेन्द्र यादव छन् । यादव परराष्ट्र मन्त्रालय नपाए सरकारमा नजाने पक्षमा छन् । परराष्ट्र नपाए जसपाबाट सरकारको नेतृत्व महेन्द्र यादवले गर्ने भएका छन् ।
त्यस्तै, नेकपा माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि उपप्रम सहित परराष्ट्र मन्त्री हुन खोजिरहेका छन् । जनमोर्चाको कोटाबाट हरेक पटक एक मन्त्रीको भागबण्डा लिने गरेका नारायणकाजीले यो पटक आफैं परराष्ट्र मन्त्रीमा दाबी पेश गरेका छन् । यद्यपि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कृष्णबहादुर महरालाई पुनस्र्थापना गराउने पक्षमा छन् । महरालाई उपप्रधानमन्त्रीसहित परराष्ट्र वा संचार तथा सूचना प्रविधि मन्त्री बनाएर उनको गुमेको छवि पुनस्र्थांपना गर्ने पक्षमा प्रचण्ड छन् ।
नेपाली कांग्रेसको तर्फबाट परराष्ट्र मन्त्रीका लागि डा. नारायण खड्का र ब्यापारी सांसद विनोद चौधरीले दाबी गरिरहेका छन् । चौधरीले आफ्नो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राम्रो सम्बन्ध रहेकाले प्रधानमन्त्री देउवालाई त्यसको लाभ हुने भन्दै परराष्ट्र मन्त्रीको लागि लागेका छन् । देउवापत्नी डा. आरजु राणालाई पनि उनले सकारात्मक बनाइसकेको चर्चा कांग्रेस बृत्तमा छ ।
नेपाली कांग्रेसभित्रको देउवा समूहले नै एउटा ब्यापारीलाई राज्यमन्त्री बनाउँदा नै चर्को बिरोध भइसकेकाले चौधरीलाई बनाउनु नहुने बरु डा. नारायण खड्कालाई बनाउन जोड दिइरहेका छन् ।
परराष्ट्र मन्त्रीको दौडमा रहेकामध्ये उपेन्द्र यादव, कृष्णबहादुर महरा र डा. नारायण खड्का प्रत्यक्ष निर्वाचित सांसद हुन् भने चौधरी समानुपातिक सांसद हुन् । नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सांसद हुन् ।नेपाल फेस
प्रतिक्रिया दिनुहोस्