काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा सांसद् राजेन्द्र श्रेष्ठले अबको दुई/चार दिनभित्रै सरकारले पूर्णता पाउने विश्वास दिलाएका छन् । यसको लागि गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुबीच कुराकानी पनि भैरहेको उनको भनाइ छ ।
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा उनले भने, ‘यो गठबन्धनको सरकार हो । त्यसो भएको हुनाले अहिले सरकारलाई पूर्णता दिनेबारे पनि कुराकानी भइरहेको छ । हामीले हिजो भर्खरै सरकारको लागि न्यूनतम साझा कार्यक्रम ल्याएका छौं ।
गठबन्धन भन्ने बित्तिकै सार्वभौम र समानताको आधारमा सरकार चल्ने कुरा हो । यसमा भावनात्मक एकताको कुरा पनि हुन्छ । मन्त्रालय बाँडफाँडको विषयमा छफल भैरहेको छ ।’
उनले वर्तमान सरकारसँग आगामी निर्वाचन पनि सम्पन्न गराउने दायित्व भएकोले उपयुक्त समयमा उपयुक्त निर्णय लिइने पनि बताए । उनले मन्त्री बन्नको लागि आकांक्षी धेरै हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने पनि बताए ।
उनले केपी ओली नेतृत्वको सरकारको प्रतिगमनविरुद्ध आफूहरुको एलायन्स बनेको सुनाए । आफूहरु यो संसदलाई पूर्ण कार्यकाल चलाउनुपर्ने पक्षमा उभिएको सुनाउँदै सोहीअनुसार अघि बढेको श्रेष्ठको भनाइ छ ।
हिजोमात्रै ल्याइएको साझा न्यूनतम कार्यक्रममा मुख्य प्राथमिकता कोभिड नियन्त्रणको लागि दिइएको बताए । यसको लागि कोरोनाको भ्याक्सिन सबै जनतालाई उपलब्ध गराईने कुरा पनि कार्यक्रममा समावेश गरिएको उनले सुनाए ।
‘असोज मसान्तभित्र एक तिहाई जनतालाई र आगामी चैत्र मसान्तसम्म खोप लगाउन योग्य सबैलाई भ्याक्सिन उपलब्ध गराउने कुरा हामीले कार्यक्रममा समावेश गरेका छौं’, उनले भने ।
त्यस्तै, स्वास्थ्य क्षेत्रमा भएको भ्रष्टाचार छानबिन गर्ने र दोषीमाथि कारबाही गरिने कुरापनि कार्यक्रममा समावेश गरिएको उनले सुनाए । आफूहरुले अल्पकालीन र दीर्घकालीन गरेर कार्यक्रम बनाएको उनको भनाइ छ ।
त्यस्तै, उनले सुशासनमा पनि जोड दिने कुरा कार्यक्रममा समावेश गरिएको बताए । काठमाडौं बाहिर हाई–टेक शहर बनाउने कुरापनि साझा कार्यक्रममा राखिएको बताउँदै उनले भने, ‘अब हामीले उत्पादनशील अर्थतन्त्र बनाउनतिर ध्यान दिनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्