काठमाण्डाै । जय ट्रफी एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तथा मधेश प्रदेश र बाग्मती प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । आर्मीले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले दोस्रो दिनको समाप्तिमा ५ विकेट गुमाएर ८८ रन बनायो । दोस्रो पारीमा पुलिसका अमित श्रेष्ठले ३६ रन बनाए । आर्मीका आकाश चन्द र शाहब आलमले २/२ विकेट लिए ।
दोस्रो पारीमा आर्मीका सोमपाल कामीले नटआउट ८२ रन बनाए । पुलिसका कुशल भुर्तेलले ४ विकेट लिए । आर्मीले पहिलो पारीमा १ सय २१ रन र पुलिसले १ सय २५ रन बनाएको थियो । बराबरीसँगै पुलिस १५ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । यस्तै आर्मी १४ अङ्कसहित पुछारमा छ ।
यस्तै मधेश प्रदेश र बाग्मती प्रदेशबीचको खेल पनि बराबरीमा सकिएको छ । मधेशले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको बाग्मतीले दोस्रो दिनको समाप्तिमा ६ विकेट गुमाएर ९७ रन बनायाे । दोस्रो पारीमा बाग्मतीका ऋत गौतमले २५ रन बनाए । मधेशका हरिशङ्कर शाहले ३ विकेट लिए ।
दोस्रो पारीमा मधेशका मयन यादवले शतक बनाए । बाग्मतीका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । मधेशले पहिलो पारीमा १ सय २ रन र बाग्मतीले १ सय ५० रन बनाएको थियो ।
बराबरीसँगै बाग्मती १५ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । यस्तै मधेश १५ अङ्कसहित दाेस्राे स्थानमा छ । हिजोदेखि शुरू भएको प्रतियोगितामा लिग चरणका खेल सिङ्गल राउन्ड रोबिनका आधारमा हुनेछ । लिग चरणका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्