काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि चुनाव सार्न षड्यन्त्र भइरहेको आशंका व्यक्त गरेका छन्। बुधबार मोरङको विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा ओलीले चुनाव सार्न षड्यन्त्र भइरहेको आशंका व्यक्त गरेका हुन्।
‘स्थानीय तहको निर्वाचन नगर्न षड्यन्त्र भइरहेको छ,’ विराटनगरमा ओलीले आशंका व्यक्त गरे, ‘यस्ता षड्यन्त्रलाई अदालतले पनि मान्नु हुँदैन, निर्वाचन आयोगले पनि मान्नु हुँदैन।’
वर्षको अन्तिम दिन सभा सम्बोधन गर्न विराटनगर पुगेको ओलीले २०७८ सालमा गठबन्धनले धेरै षड्यन्त्र गरेको आरोप लगाए। उनले यो वर्षलाई गठबन्धनको षड्यन्त्रको वर्षको संज्ञासमेत दिए। सत्तागठबन्धनसँग एकदमै आक्रोसित भएर प्रस्तुत भएका ओलीले देशलाई विकासको गतिबाट रोकेर पछाडि फर्काउन खोजेको बताए।
गठबन्धनले मुलुकलाई श्रीलंकाको गतितर्फ लैजान खोजे पनि आफूलाई त्यसो हुन नदिने आश्वासन दिए। उनले आगामी वर्ष २०७१ को वर्ष एमालेको विजयीको वर्ष हुनेसमेत दाबी गरे।
ओलीले मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा पनि चुनाव सार्न षड्यन्त्र भइरहेको अभिव्यक्ति दिएका थिए। सत्तारुढ गठबन्धन चुनाव सार्न अध्यादेश नै ल्याउने तयारीमा जुटिरहेको उनको दाबी थियो।
प्रतिक्रिया दिनुहोस्