Advertisement

प्रादेशिक योजना तथा कार्यक्रम तर्जुमा दिग्दर्शन नीतिगत समीक्षा सम्पन्न

न्युजडेस्क
२०८३ आश्विन १, बिहीबार २०:५३

जनकपुरधाम, असोज १ — मधेश प्रदेश सभाको अर्थ तथा योजना समिति द्वारा आयोजित “प्रादेशिक योजना तर्जुमा तथा योजना एवं कार्यक्रम तर्जुमा दिग्दर्शन, २०७७ को नीतिगत समीक्षा” कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता अर्थ तथा योजना समितिकी सभापति अनिता कुमारी साहले गर्नुभएको थियो भने मधेश प्रदेश सभाका सभामुख रामअशिष यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा उन्नत नेपालले समन्वय तथा UNDPले सहयोग गरेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै UNDP का बिटुबाबु श्रीवास्तवले प्रदेशको विकास योजना निर्माण प्रक्रियालाई अझ प्रभावकारी, समावेशी र परिणाममुखी बनाउन नीतिगत समीक्षा आवश्यक रहेको बताउनुभयो।

प्रमुख अतिथि सभामुख रामअशिष यादवले प्रदेशको समग्र विकासका लागि यथार्थपरक, जनमुखी तथा दीर्घकालीन सोचमा आधारित योजनाको आवश्यकता औँल्याउँदै योजना निर्माण प्रक्रियामा सरोकारवाला निकाय, जनप्रतिनिधि तथा विज्ञहरूको सक्रिय सहभागिता हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले प्रदेशको आवश्यकता र प्राथमिकताअनुसार योजना तथा कार्यक्रम तर्जुमा गरिए मात्र विकासले अपेक्षित गति लिन सक्ने बताउनुभयो।

कार्यक्रमका प्रशिक्षक रविन्द्र नाथ श्रीवास्तवले प्रादेशिक योजना तर्जुमा तथा योजना एवं कार्यक्रम तर्जुमा दिग्दर्शन, २०७७ का विभिन्न पक्ष, कार्यान्वयन अवस्था, चुनौती तथा सुधारका सम्भावित उपायबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले प्रदेशस्तरीय योजना निर्माणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन दिग्दर्शनको समयानुकूल परिमार्जन आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रममा प्रदेश सभा सदस्य, विषयगत विज्ञ, सरकारी अधिकारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले दिग्दर्शनको प्रभावकारिता, कार्यान्वयनका चुनौती तथा सुधारका उपायबारे सुझाव प्रस्तुत गरेका थिए।

कार्यक्रमले प्रदेशको योजना तथा कार्यक्रम तर्जुमा प्रक्रियालाई थप प्रभावकारी, उत्तरदायी र विकासमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर