जनकपुरधाम, असोज १ । मधेश प्रदेशसभाकी सदस्य जैनब खातुनको निधन भएको छ। नेकपा एमालेबाट रौतहट क्षेत्र नं. ३ को समानुपातिकतर्फ निर्वाचित खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
रौतहटको फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तिया निवासी खातुनलाई अचानक स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
खातुन मधेश प्रदेशसभामा नेकपा एमालेको तर्फबाट सक्रिय भूमिका निर्वाह गर्दै आएकी थिइन्। उनको निधनले मधेश प्रदेशसभाले एक अनुभवी महिला जनप्रतिनिधि गुमाएको छ भने रौतहट क्षेत्र शोकमग्न बनेको छ।
उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।


तपाईको प्रतिक्रिया !