Advertisement

दुधमती नदी जनकपुरको सभ्यता, संस्कृति र इतिहासको जीवनधारा : सभामुख यादव

न्युजडेस्क
२०८३ भाद्र ३१, बुधबार १२:३९

जनकपुरधाम। मधेश प्रदेश सभाका सभामुख एवं जल संरक्षण अभियन्ता रामअशिष यादवले दुधमती नदी केवल एउटा नदी मात्र नभई जनकपुरधामको सभ्यता, संस्कृति र इतिहासको जीवनधारा रहेको बताउनुभएको छ।

दुधमती नदीको पौराणिक, ऐतिहासिक तथा धार्मिक महत्वबारे चर्चा गर्दै सभामुख यादवले रामायणकालीन जीवनसँग सम्बन्धित यो नदी जनकपुरधामको प्राचीन सभ्यताको महत्वपूर्ण साक्षी रहेको उल्लेख गर्नुभयो।

उहाँले विश्वका अधिकांश प्राचीन शहर तथा मानव बस्तीहरू नदी किनारमै विकसित भएको उल्लेख गर्दै नदीहरू केवल पानीको स्रोत नभई मानव जीवन, संस्कृति र विकासका आधारसमेत रहेको बताउनुभयो।

नेपालका नदीहरूको उद्गम र प्रकृति फरक–फरक रहेको चर्चा गर्दै उहाँले हिमाली, पहाडी तथा चुरे क्षेत्रबाट उत्पन्न नदीहरूको आफ्नै विशेषता भए पनि दुधमती नदीको पहिचान सामान्य वर्गीकरणभन्दा फरक रहेको धारणा राख्नुभयो। उहाँका अनुसार दुधमती नदी जनकपुरधामको पौराणिक जीवन र धार्मिक आस्थासँग गहिरो रूपमा जोडिएको छ।

पौराणिक मान्यताअनुसार दुधमती नदीको सम्बन्ध कामधेनु गाईको दूधको धारासँग जोडिएको छ। जनकपुरधामका धार्मिक आख्यानहरूमा पनि दुधमतीलाई पवित्र जलधाराका रूपमा उल्लेख गरिएको पाइन्छ। त्यसैले यसको संरक्षण केवल नदी संरक्षणको विषय नभई ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणको विषयसमेत भएको सभामुख यादवले बताउनुभयो।

उहाँले दुधमती नदीको संरक्षण, संवर्द्धन र पुनर्जीवनलाई सरकार वा स्थानीय तहको मात्र जिम्मेवारीका रूपमा नहेर्न आग्रह गर्दै स्थानीय युवा, नागरिक समाज, धार्मिक संस्था तथा समुदायले समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

दुधमती आरतीबारे चर्चा गर्दै सभामुख यादवले जल, संस्कृति र आध्यात्मिकतालाई एकसाथ जोड्ने माध्यमका रूपमा आरती नदी संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने प्रभावकारी पहल बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

जनकपुरधामका पोखरी, नदी, सरोवर तथा धार्मिक स्थलहरू प्राचीन मिथिला सभ्यता र रामायणकालीन परम्परासँग जोडिएका उल्लेख गर्दै उहाँले दुधमती नदीको संरक्षणबाट मिथिलाको लोकपरम्परा, धार्मिक आस्था, सांस्कृतिक पहिचान तथा प्राकृतिक सम्पदाको संरक्षणसमेत सम्भव हुने बताउनुभयो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर