बेलायतको स्यान्डहर्स्टस्थित रोयल मिलिट्री एकेडेमीमा तालिम लिन आएका नेपाली सेनाका एक अधिकृतले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् ।
२१ वर्षीय सेकेन्ड लेफ्टिनेन्ट पिटर थापाले तालिमका क्रममा उत्कृष्ट क्षमता प्रदर्शन गरेबापत ‘इन्टरनेसनल सोर्ड अफ अनर’ अवार्ड पाएका हुन् । २० वर्षयता नेपाली क्याडेटले उक्त अवार्ड पाएको यो पहिलो हो ।
विश्वका विभिन्न मुलुकका ३३ क्याडेट ४४ साताको प्रशिक्षणमा सामेल थिए । कमिसनिङ कोर्स समापनका क्रममा शुक्रबार बेलायती महारानीको प्रतिनिधित्व गर्दै उपस्थित जनरल सर प्याट्रिक स्यान्डर्सले थापालाई उक्त अवार्ड प्रदान गरे ।
यसबाहेक थापाले प्लाटुन कमान्डर पास समेत पाएका छन् । ब्रिटिस अफिसर क्याडेटलाई तालिम दिन योग्य उक्त ‘इन्सट्रक्टर पास’ नेपाललाई पहिलोपटक दिइएको थापाले बताए । थापा कुनै पनि बेला रोयल मिलिट्री एकेडेमी स्यान्डहस्र्टमा आएर ब्रिटिस क्याडेटलाई २ वर्षसम्म प्रशिक्षण दिन सक्नेछन् ।
थापा बेलायती सेनाको एउटा मात्र कोटामा छानिएर तालिममा आउन सफल भएका थिए । रोयल मिलिट्री एकेडेमी स्यान्डहर्स्ट तालिमका लागि विश्वमै प्रख्यात मानिन्छ । एकेडेमीले सन् १९४७ यता १२० देशका ५ हजार बढी अन्तर्राष्ट्रिय विद्यार्थीलाई तालिम दिइसकेको छ ।
सोभरिन परेड विशेष समारोहमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलगायत अन्य कर्मचारी पनि उपस्थित थिए । सो अवसरमा यूएईका राजकुमार शेख मोहम्मद बिन जाइदलगायत सेनाका उपल्लो दर्जाका अधिकृत र कुटनीतिज्ञहरु समेत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्