काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समय अनुकुल सशस्त्र प्रहरी बलको जनशक्ती थपेर आधुनिक र प्रविधीमैत्री बनाउने सरकारको लक्ष्य रहेको बताएका छन् ।
सोमबार चितवनको राप्ती नगरपालिका–६ स्थित भण्डारामा सशस्त्र प्रहरी बल नेपाल नम्बर–३ गढिमाई बाहिनीको उद्घाटन गर्दै थापाले सो कुरा बताएका हुन् ।
सिमा क्षेत्रमा सशस्त्रले बोर्डर आउट पोष्ट ‘बिओपी’ बढाइरहेको छ । सशस्त्र प्रहरीमा अहिले करिब ३५ हजारको दरबन्दी कायम छ ।
सिमानामा सशस्त्रको उपस्थिती अझै बिस्तार गरिने गृहमन्त्री थापाको भनाई छ ।
‘सशस्त्रको क्षमता र दक्षता अभिवृद्धि गर्दै लाने सरकारको लक्ष्य छ’ मन्त्री थापाले भने–‘मातृभुमीको रक्षा गर्न खटिने अवसरलाई गर्वको रुपमा लिएर प्रतिकुल मौसम, बिकटता र विषम परिस्थितीमा समेत व्यवसायीक दक्षता प्रदर्शन गर्न सकलदर्जालाई दिर्नेश गर्दछु ।’
चितवनको भरतपुर महानगरपालिका–२ स्थित आँपटारीमा स्थापना गरिएको सशस्त्र प्रहरीबल नेपाल नम्बर–१७ गण मुख्यालयको गृह सचिव महेश्वर न्यौपानेले उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै गृह–सचिव महेश्वर न्यौपानेले सुरक्षा निकायका प्रमुखहरुलाई समन्वयमा काम गर्न निर्देशन दिएका छन् ।
कार्यक्रममा प्रहरी माहानिरिक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख डा. गणेश अधिकारी सहभागी थिए ।
सशस्त्र प्रहरीका महानिरीक्षक खनालले राष्ट्रको रक्षा, नागरिकको सेवा र सुरक्षाका लागी समर्पित रहन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्