काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कानून व्यवसायीमाथि अभद्र व्यवहार गरेको भन्दै सर्वोच्च अदालतमा अवहेलनाको निवेदन परेको छ ।
ओलीविरुद्ध कानून व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भन्दै कारबाहीको मागसहित आइतबार वरिष्ठ अधिवक्ता कुमार शर्माले निवेदन पेस गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले केही दिनअघि बाजे वकिल भनी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि व्यंग्य गर्नुभएको थियो । यसअघि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको मानमर्दन गरेको भन्दै नेपाल बार एशोसिएसनका चार पूर्व अध्यक्षहरुले आपत्ती जनाएका छन् ।
उनीहरुले आइतबार संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति कानून व्यवसायमाथिकै निर्लज्ज प्रहार भएको बताएका छन् ।
वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले संयुक्त विज्ञप्ति निकाल्दै प्रधानमन्त्रीलाई सार्वजनिक क्षमायाचना गर्न र अदालतको अवहेलनाजन्य कार्य गरेवापत जवाफदेही बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्