काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोगपत्र दर्ता हुने भएको छ।
उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गर्न लागिएको हो।
कास्की जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख, जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले आज उनीविरुद्ध अभियोगपत्र दर्ता हुने जानकारी दिइन्।
‘आज अभियोगपत्र दर्ता गर्दै छौँ’, जिल्ला न्यायाधिवक्ता काफ्लेले आइतबार बिहान नेपालखबरसँग भनिन्।
पोखराको सूर्यदर्शन सहकारी ठगीअन्तर्गत रवि लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशीलगायत ३२ जनाविरुद्ध माथि उल्लिखित तीन अभियोगमा आज मुद्दा दर्ता गर्न लागिएको हो।
भदौमा अभियोगपत्र दायर भएका सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेलसहितविरुद्ध मुद्दा दर्ता भएको थियो।
यस्तै सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराई, पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध सरकारी वकिल कार्यालयले बिगो बढाउँदै थप कसुरमा सजाय माग गर्दै अभियोगपत्र दायर गरेको हो।
पूरक अभियोग लगाइएकामध्ये ६ जना कास्की कारागार र ३ जना अन्य कारागारमा छन्। १० जना भने फरार छन्।
प्रतिक्रिया दिनुहोस्