Advertisement

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

न्युजडेस्क
२०८३ श्रावण १२, मंगलवार २०:५५

जनकपुरधाम, साउन १२ गते । मधेश प्रदेशका सभामुख रामआशिष यादवले सङ्घीयता आर्थिक व्ययभार नभई प्रदेशका जनताको आत्म सम्मान, पहिचान भएकाले सङ्घीयतालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
सभामुख यादवले मधेश प्रदेश सभा अन्तर्गतको प्रदेश मामिला समितिको आयोजनामा आज जनकपुरधाममा सम्पन्न सङ्घीयता सबलीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सङ्घीयताका धेरै सकारात्मक पक्ष भएको बताउँदै यसले राज्यमा धेरै वर्ग समुदाय सहभागिता बढेको र साना साना योजनाका लागि केन्द्रको मुख ताक्ने प्रवृत्तिको अन्त्य भएको बताउनुभयो ।
उहाँले सङ्घीयताको दुर्बल पक्षहरूमा सुधार गर्दै सबल पक्षलाई अझ बढी मजबुतीका साथ अगाडी बढाउँदै जनताको मन जित्ने गरि कामकाज गर्न जरुरी रहेको बताउनुभयो ।
नेपाली काँग्रेसका नेता तथा प्रदेश सभाका सदस्य रामसरोज यादवले संविधानले प्रदान गरेको एकल सूचीका कतिपय अधिकारहरू प्रदेशले प्रयोग गर्न नसकेको बताउँदै ती अधिकारको प्रयोग गर्नेतर्फ सरकार नबढ्नु सङ्घीयताको कमजोरी भएको बताउनुभयो । संविधान सभाका सदस्य रहनुभएका प्रदेश सभाका सदस्य यादवले अब कसैले पनि सङ्घीयतालाई समाप्त गर्न नसक्ने दाबी गर्नुभयो ।
प्रदेश सभाका सदस्य सुरिता साहले सङ्घीयताका कारणले जनताले गुमाउने भन्दा धेरै विषयहरू पाएको भन्दै अहिले गाउँ गाउँमा विकासको लहर आउनुका साथै स्वास्थ्य तथा शिक्षामा व्यापक सुधार हुन थालेको बताउनुभयो ।
सङ्घीयता विद् तथा संविधान सभाका सदस्य डा. विजय कुमार सिंहले अहिलेको सङ्घीयता निर्देशित सङ्घीयता भएको बताउँदै सङ्घीयताको पूर्ण अभ्यासका लागि प्रदेशमा आफ्नो प्रहरी र कर्मचारी हुन जरुरी रहेको बताउनुभयो ।
अर्थविद् डा. भोगेन्द्र झाले सङ्घीयता खर्चिलो भने भन्ने भाष्यमा कुनै सत्यता नभएको बताउँदै सङ्घीयताका लागि सातै प्रदेशको बजेट कूल बजेटको ९.२२ प्रतिशत रहेको छ भने मधेश प्रदेशको बजेट १.२८ प्रतिशत मात्र रहेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख रहेको बताउनुभयो ।
प्रदेश मामिला समितिका सभापति रत्नेश्वर गोइतको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रबाट व्यक्तिहरू सहभागी भएर सङ्घीयता आफैँमा खराब नभए पनि यसका पत्रको क्रियाकलापले जनतामा असन्तुष्टि बढ्दै गएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर