जनकपुरधाम, फागुन १२ गते । नेकपा माओवादी केन्द्रका सचिव तथा मधेश प्रदेश इनचार्ज मातृका प्रसाद यादवले राराब क्याम्पसमा भएको कुटाकुटको निष्पक्ष छानविन गर्न माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्–‘ राराब क्याम्पस परिसरभित्र त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल राष्ट्रीय कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष क. सुरेन्द्र यादव, अखिल (क्रांतिकारी) धनुषाका अध्यक्ष क. वृकेश अधिकारी र राराब अखिल (क्रांतिकारी) इकाइ अध्यक्ष क. सुशान्त यादव लगायत त्यहां अध्ययनरत विद्यार्थीहरूमाथी भएको सांघातिक आक्रमणको निष्पक्ष छानबीन तथा दोषीमाथी कारवाहीको माग गर्दछु ।’
एमबीएसको परीक्षाको जिम्मेबारी लिने विषयलाई लिएर विवाद उत्पन्न भए पछि कुटाकुट भएको थियो । एमबीएस शाखाका प्रमुख अभिराम रायले सिट प्लान सहित परीक्षा सम्बन्धी जानकारी दिने उद्देश्यले क्याम्पस प्रमुख बसन्त कर्णसँग भेटन गएका बेला उनकै अगाडि कुटाकुट भएको प्रत्यक्षदर्शीको दावी छ । क्याम्पस प्रमुख कर्णले रायलाई परीक्षाको जिम्मेवारीबाट हटाइ कुनै नीजि क्याम्पसको इसारामा अरुलाई दिने मनसाय बनाएपछि विवाद शुरु भएको थियो ।
क्याम्पस प्रमुख बसन्त कर्णकै अगाडि प्रजातान्त्रिक समूहका महेश यादव र माओवादी समर्थित सुरेन्द्र यादवले एक अर्का माथि मुक्का प्रहार गरेका थिए । दुबै कर्मचारीले एक अर्कालाई गालीगलौज पनि गरेका थिए । सो घटनामा ४ जना घाइते भएका छन । घाइतेहुनेहरुमा ५५ वर्षिय सुरेन्दप्रसाद यादव, २७ वर्षिय गोविन्द साह, २२ वर्षिय रामपुकार महतो, २४ वर्षिय विकेश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कर्मचारीहरु बिच कुटाकुट भइरहदा क्याम्पस प्रमुख कर्ण मोटरसाइकलमा चढेर घर भागेका थिए । दूबै पक्षलाई जिल्ला प्रहरी कार्यालय धनुषामा आजै बोलाइएको जानकारी धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी दिएका छन ।
प्रतिक्रिया दिनुहोस्