काठमाडौं १७, फागुन । जनता समाजवादी पार्टी, नेपाल निकट संघीय कानून व्यवसायी संघ (एफएलए) केन्द्रीय कार्यसमिति पुनर्गठन भएको छ । जसपा नेपालको पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार आयोजित कानून व्यवसायीहरुको एक भेलाले वरिष्ठ अधिवक्ता विरेन्द्र कुमार ठाकुरको नेतृत्वमा १५ सदस्यीय केन्द्रीय समिति पुनर्गठन गरेको हो ।
कानून व्यवसायीहरुको उक्त छाता संगठनको उपाध्यक्षमा अधिवक्ता दिप नारायण यादव, भगवती सुवेदी र किरण कुमारी साह चयन भएका छन् भने महासचिवमा अधिवक्ता प्रिती रमण र सचिवमा साया खड्का चुनिएका छन् ।
यसैगरी, समितिको सदस्यमा विमला विश्वकर्मा, उमाशंकर देव, अस्मिता थापा, रसना यादव, रामचन्द्र महतो, मोहम्मद समिम, सुरेन्द्र कुर्मी र घनश्याम शर्मा चयन भएका छन् । समितिको केन्द्रीय सल्लाहकारमा वरिष्ठ अधिवक्ता मिथिलेश कुमार सिंहलाई चयन गरिएको छ ।
यही चैत्र २३ गते हुने नेपाल बार एसोसिएनको निर्वाचनमा अन्य दलसँग सम्वद्ध कानून व्ययसायीको संगठनहरुसँग वार्ता, छलफल र सहकार्य गरी उम्मेदबारी दिने निर्णय भएको छ । सोका लागि बैठकले मिथिलेश कुमार सिंह, विमला विश्वकर्मा, आशा राई र विरेन्द्र कुमार ठाकुरलाई जिम्मेबारी तोकेको छ ।
यसअघि संघको केन्द्रीय अध्यक्ष रहेका अधिवक्ता दिपक राई अन्य पार्टी निकटको संगठनमा आबद्ध भइसकेकोले साधारण सदस्य समेत नरहने गरी बैठकले उनलाई निष्काशन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्