जनकपुरधाम, १८ चैत । महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ४ स्थित भेटपुरमा ३० लाखको लागतमा एक योजनाको शिलान्यास गरिएको छ। सम्सी गाउँपालिका वडा नम्बर ४ काे वडा स्तरीय लगानिमा सडक ढलानको शिलान्यास गरियो।
महोत्तरी क्षेत्र नम्बर ४ का पूर्व सांसद एवं स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादव, महोत्तरी क्षेत्र नम्बर ४ ख का प्रदेश सभा सदस्य सरोज सिंह कुश्वाहा, सम्सी गाउँपालिकाका अध्यक्ष राम नाथ यादव, उपाध्यक्ष अनिता यादव, तथा वडा नम्बर ४ का वडा अध्यक्ष राजिव कुमार यादवले संयुक्त रुपमा शिलान्यास गरेका हुन्।
वडा अध्यक्ष राजिव कुमार यादवले बताए अनुसार, यस वडामा असाढ महिनामा हिडडुल गर्न समस्या हुने गर्दा भेटपुर टोलमा ३० लाखको लागतमा सडक ढलान गर्ने योजना ल्याइएको हो। सडक जिर्ण अवस्थाका कारण बारह महिना आवतजावतमा समस्या भइ रहेको कुरा डा. सुरेन्द्र कुमार यादवले बताए। सडक ढलान भएपछि यस वडा र आसपासका जनताहरूलाई हिडडुलमा सहजता हुने जनाइएको छ।
सांसद सरोज सिंह कुश्वाहाले भने, “यस वडामा अब विकासको गति बढेको छ। अघिल्लो समयमा यस वडामा विकास कार्य कमजोर भएको थियो, तर अहिले प्राथमिकतामा राखी विकासका कामहरू अघि बढाइएका छन्।”
सम्सी गाउँपालिकाका अध्यक्ष राम नाथ यादवले पनि आफ्नो गाउँपालिकाबाट यस वडा सहित सम्सी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, सिचाइ र भौतिक पूर्वाधारका लागि बजेट पठाएर सहयोग गरेको बताउनुभयो। प्रदेश सभा सदस्य सरोज सिंह कुश्वाहाले यस वडामा स्वास्थ्य चौकी भवन निर्माण, सामुदायिक भवन निर्माण, सडक ढलान लगायत दर्जनौं योजनाहरु अघि बढाइएको र कति योजनाहरु पूरा भइसकेको जानकारी दिए। आउँदो आर्थिक वर्षमा थप योजनाहरु ल्याएर विभिन्न निर्माण कार्यहरूको कार्यान्वयन गरिने उनको प्रतिबद्धता थियो।
यस पालिकालाइ समृद्ध र आधुनिक बनाउन आफूले घोषणा गरेको विकास योजनामा कार्यान्वयन जारी राख्ने कुरा उनले सुस्पष्ट पारे।
























