जनकपुरधाम, बैशाख ७ । जनता समाजवादी पार्टी (जसपा) नेपाल मुखियापट्टि मुसहरनियाँ गाउँपालिका कार्यसमितिले नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवको अभिव्यक्ति गैर राजनीतिक रहेको टिप्पणी गरेको छ ।
मुखियापट्टि मुसहरनिया गाउँपालिका कमिटीका अध्यक्ष रविन्द्रप्रसाद यादव र सचिव कैलाशकुमार यादवले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ–‘नेपाली कांग्रेसका सह–महामन्त्री यादवले जनकपुरधाममा आयोजित एक कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम उच्चारण गरी दिएको अभिव्यक्ति राजनीतिक संस्कार र शिष्टाचार समेत गुमाइसकेको हुनाले उक्त शव्द प्रति गाउँपालिका कार्यसमितिले घोर आपत्ति जनाउँदै भत्र्सना गर्दछ ।’
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र समानुपातिक, समावेशी स्थापित गर्न जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको योगदान सर्वविदितै रहेको र अविस्मरणीय रहने जारी सो विज्ञप्तिमा दावी गरिएको छ । समानुपातिक, समावेशीको अगुवाई गरेका अध्यक्ष यादवकै कारण देशका हरेक तहमा उत्पीडनमा पारिएका समुदायहरु मधेशी, दलित, महिला, आदिवासी, जनजाति, मुस्लिम, पिछडिएकावर्ग, अल्पसंख्यक तथा सीमान्तकृतले अधिकार प्राप्ति गर्नुका साथै सह–महामन्त्री यादव सह–महामन्त्री बन्न सकेको दावी गरिएको छ ।
सह–महामन्त्री यादव मधेशी कोटोबाट सह–महामन्त्री बनेका छन् । मधेश आन्दोलन भन्दा पहिला कांग्रेस पार्टीमा मधेशी कोटो छुट्टियाइएको थिएन् ।
विज्ञप्तिमा भनिएको छ–‘आफ्नै पार्टीका वरिष्ठ नेताहरुको योगदानको कदर नगर्ने सह–महामन्त्री यादवलाई राजनीतिक संस्कार र शिष्टाचारको विकास हुनु जरुरी रहेको कुरा अवगत गराउँदै भाषिक शुद्धतालाई ख्याल गरी पदीय मर्यादाक्रममा विचार गर्न आग्रह गर्दछु ।’
धनुषा निर्वाचन क्षेत्र नम्वर ४ मा प्रतिनिधि सभाको निर्वाचनमा सह–महामन्त्री यादव एमालेका सचिव रघुविर महासेठबाट पराजित भएका थिए । जसपाले त्यहाँ महाजन यादवलाई आफ्ना उम्मेदवार बनाएपछि सह–महामन्त्री यादव जसपाका अध्यक्ष उपेन्द्र यादव माथि रुष्ट भएका थिए । सह–महामन्त्री यादव जसपा त्यहाँ आफ्नो उम्मेदवार महाजनको उम्मेदवारी फिर्ता लियोस चाहेका थिए तर जसपाले उम्मेदवारी फिर्ता नलिएपछि रघुविर महासेठबाट सह–महामन्त्री यादव पराजित भएको उनको बुझाई छ ।
त्यतिवेला देखि नै उपेन्द्र यादव लक्षित गर्दै सह–महामन्त्री यादव गैर राजनीतिक टिप्पणी गर्दै आएको जसपा नेपालको बुझाई छ ।
प्रतिक्रिया दिनुहोस्