औरही, कार्तिक ८ गते। धनुषाको औरही गाउँपालिका–१ झिटकहिया टोलमा सम्पन्न गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सरस्वती समूहले प्रथम स्थान हासिल गरेको छ। प्रतियोगितामा कुल १४ वटा समूह सहभागी भएका थिए।
द्वितीय स्थान भैरव समूहले र तृतीय स्थान पुस्तक समूहले प्राप्त गरेका छन्। प्रतियोगिताको आयोजना झिटकहिया युवा सञ्जालले गरेको थियो।
कार्यक्रम श्री राम जानकी माध्यमिक विद्यालय, झिटकहिया का प्राध्यापक बद्री नारायण यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका पूर्व शिक्षक सत्यनारायण यादव रहेका थिए। सो अवसरमा धनौजी गाउँपालिकाका प्रशासकीय अधिकृत हरीशंकर यादव, नापी शाखाका पूर्व कर्मचारी सत्यनारायण मण्डल, कोशी प्रदेश कार्यरत पाँचौँ तहका कर्मचारी उमेश यादव, र युवा अभियन्ता जिवेन्द्र यादव लगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
प्रतियोगिताको उद्देश्य गाउँका युवाहरूमा ज्ञानप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै आपसी सहयोग र प्रतिस्पर्धाको भावना विकास गर्नु रहेको आयोजक सञ्जालले जनाएको छ।
























