लहान, मंसिर ०६ गते। नेपाल अबुर्द रोग निवारण संस्था (Nepal Cancer Relief Society) को सिरहा जिल्ला सभाको औपचारिक उद्घाटन समारोह आज उ.वा.संघ, लहानमा सम्पन्न भएको छ।
कार्यक्रम संस्थाका अध्यक्ष अशोक लाल अमातको अध्यक्षतामा तथा प्रदेश सांसद राजकुमार गुप्ताको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथि गुप्ताले क्यान्सर जस्तो गम्भीर रोगको रोकथाम, सचेतना र प्रारम्भिक परीक्षणको आवश्यकता आजको समयमा अझ बढेको भन्दै यस्ता सामाजिक संस्थाहरूले स्थानीय समुदायमा पुर्याउने योगदान महत्वपूर्ण हुने बताए।
अध्यक्ष अमातले सिरहा जिल्लामा क्यान्सरको जोखिम र चुनौती बढ्दो रहेको उल्लेख गर्दै संगठनले आगामी दिनमा प्रभावकारी जनचेतना कार्यक्रम, स्वास्थ्य परीक्षण शिविर तथा आवश्यक सहयोग गतिविधि सञ्चालन गर्ने जानकारी दिए।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता, स्वास्थ्यकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाको उपस्थिति रहेको थियो।
























