Advertisement
☰

समाजवादी विद्यार्थी युनियन नेपालको दोस्रो दिन उपेन्द्र यादवको कक्षा, राजनीतिक चेतना अभिवृद्धिमा जोड

न्युजडेस्क
२०८३ आश्विन १८, आईतवार १४:२८

आमिन राईन
ललितपुर, असोज १८ गते। समाजवादी विद्यार्थी युनियन नेपाल केन्द्रीय समितिद्वारा आयोजित दुईदिने प्रशिक्षण कार्यक्रमको दोस्रो दिन आइतबार विभिन्न राजनीतिक तथा वैचारिक विषयमा केन्द्रित प्रशिक्षण सत्र सम्पन्न भएको छ। कार्यक्रम समाजवादी विद्यार्थी युनियन नेपालका अध्यक्ष मनिष यादवको अध्यक्षतामा सञ्चालन भइरहेको छ।

प्रशिक्षण कार्यक्रमको पहिलो सत्रमा “समसामयिक राजनीतिक अवस्था” विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले प्रशिक्षण दिएका छन्। उनले देशको वर्तमान राजनीतिक परिस्थिति, संविधान कार्यान्वयनका चुनौती, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, समावेशी लोकतन्त्र, सामाजिक न्याय तथा संविधान संशोधनको आवश्यकताबारे विस्तृत रूपमा धारणा राखेका छन्।

अध्यक्ष यादवले मधेशी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम तथा अन्य सीमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्न निरन्तर राजनीतिक संघर्ष आवश्यक रहेको उल्लेख गर्दै परिवर्तनको अभियानमा विद्यार्थीहरूको भूमिका महत्वपूर्ण रहने बताए। उनले विद्यार्थीहरूलाई अध्ययनसँगै राजनीतिक, सामाजिक तथा राष्ट्रिय मुद्दाप्रति सचेत र जिम्मेवार बन्न आग्रह गरे।

प्रशिक्षणका क्रममा सहभागी विद्यार्थी नेताहरूले समसामयिक राजनीतिक विषयमा जिज्ञासा राखेका थिए भने प्रशिक्षक यादवले विभिन्न प्रश्नहरूको जवाफ दिँदै वर्तमान राजनीतिक घटनाक्रम, संघीयता, लोकतन्त्र र युवाको भूमिकाबारे स्पष्ट पारेका थिए।

देशका विभिन्न जिल्ला तथा प्रदेशबाट सहभागी विद्यार्थी नेताहरूको उपस्थिति रहेको उक्त कार्यक्रममार्फत संगठनलाई वैचारिक रूपमा सुदृढ बनाउने, नेतृत्व क्षमता विकास गर्ने तथा राष्ट्रिय राजनीतिक मुद्दाबारे साझा बुझाइ निर्माण गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

समाजवादी विद्यार्थी युनियन नेपालले प्रशिक्षण कार्यक्रममार्फत विद्यार्थी नेतृत्वलाई संगठनात्मक, वैचारिक तथा राजनीतिक रूपमा थप सक्षम बनाउने लक्ष्य लिएको छ। कार्यक्रमका आगामी सत्रहरूमा पनि विभिन्न विषयमा वरिष्ठ नेताहरूले प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर