जनकपुरधाम । मिथिलाको धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा परिचित दुधमती नदीको उद्गमस्थल धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ अर्जनवास्थित दुधमती पोखरीमा आजदेखि नियमित दुधमती सन्ध्या आरती सुरु हुँदैछ।
आज हुने भव्य आरती कार्यक्रमको उद्घाटन मधेश प्रदेश सभाका सभामुख राम अशिष यादवले प्रमुख अतिथिका रूपमा गर्नेछन्। गंगासागर सफाइ अभियान तथा गंगा आरतीका संयोजकसमेत रहेका यादवको उपस्थितिले कार्यक्रमलाई विशेष महत्व प्रदान गर्ने विश्वास गरिएको छ।
सभामुख यादवको पहलमा दुधमती संरक्षण तथा सौन्दर्यीकरण कार्यक्रमलाई गौरवको आयोजनाका रूपमा अघि बढाएको छ। उद्गमस्थल अर्जनवादेखि जनकपुरधाम हुँदै महोत्तरीको मटिहानीसम्म नदी क्षेत्रको नक्साङ्कन तथा संरक्षण योजना कार्यान्वयनको चरणमा रहेको जनाइएको छ।
छाता इनिसिएटिभको अगुवाइमा सञ्चालन हुन लागेको आरती कार्यक्रमले दुधमती नदीको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई पुनःस्थापित गर्दै संरक्षण अभियानलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ।
आयोजक तथा छाता इनिसिएटिभका अध्यक्ष अमरेन्द्र कुमार यादवका अनुसार दुधमती पोखरीसँग माता सीता र कामधेनु गाई सम्बन्धी प्राचीन धार्मिक मान्यता जोडिएको छ। यस कारण उक्त स्थल मिथिलावासीका लागि आस्थाको केन्द्रका रूपमा रहँदै आएको छ।
लामो समयदेखि प्रदूषण, अतिक्रमण र संरक्षणको अभावबाट प्रभावित दुधमती नदीलाई जोगाउन विभिन्न संघसंस्था तथा स्थानीय समुदाय सक्रिय छन्। दुधमती नदी सरोकार समाजले नियमित सरसफाइ, वृक्षारोपण तथा जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ।
आयोजकले दुधमती नदीको गौरवमय इतिहास र पहिचानलाई उजागर गर्दै स्थानीय समुदायको सक्रिय सहभागितामा संरक्षण अभियानलाई दीर्घकालीन रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।


तपाईको प्रतिक्रिया !