जनकपुरधाम : भाद्रो / २१ गते धनुषामा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरी निरीक्षकसहित पाँच जना घाइते भएका छन् ।
धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरस्थित औरही खोलामा बगेर आएको सखुवाको काठ लैजाने क्रममा आइतबार राति १० बजेर ३०० मिनेटमा प्रहरी र स्थानीयबीच झडप भएको हो ।
स्थानीय र प्रहरीबीच भनाभनसँगै लाठी चार्ज भएपछि गाउँलेले ढुंगामुढा गर्दा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका २ प्रहरी र तीन जना स्थानीय घाइते भएका हुन् ।
घाइते हुनेमा प्रहरी निरीक्षक दीपक राय र प्रहरी जावन रामविश्वास परित छन ।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी नायव निरीक्षक एमडी मुस्तफाका अनुसार क्षिरेश्वरनाथ नगरपालिका सखुवा महेन्द्रनगरस्थित एक क्लिनिकमा घाइते प्रहरी निरीक्षक र प्रहरी जवानको उपचार भइरहेको छ । प्रहरीको लाठी चार्जबाट घाइते स्थानीय तीनै जनाको उपचार रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा भइरहेको स्थानीयबासीले जानकारी दिएका छन् । घाइते हुनेमा एक जना महिला रहेकी छन् ।
बटेश्वर गाउँपालिका र क्षिरेश्वरनाथ नगरपालिकाको बीचबाट बग्ने औरही खोलामा आइतबार दिउँसो स्थानीय मुसहर समुदायले तीन फिट मोटो सखुवा काठको गोलिया भेटेका थिए । त्यहि गोलिया विषयमा प्रहरीले जानकारी पाएपछि राति ९ बजे तिर नियन्त्रणमा लिन गएको बेला दुवैपक्षबीच झडप भएका हो ।
प्रतिक्रिया दिनुहोस्