काठमाडौं। अमेरिकामा राष्ट्रपतीय निर्वाचनको माहोल चलिरहेको अवस्थामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भने उल्लेख्य संख्यामा बढेको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा शनिबार एक लाख २७ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका हुन् । यससँगै अमेरिकामामा समग्र कोरोना संक्रमितको संख्या ९८ लाख ६० हजार नाघेको छ । एक साताअघि नोभेम्बर १ मा अमेरिकामा ७३ हजार ५९४ नयाँ संक्रमित थपिएका थिए । तर, त्यसयता यो संख्यामा निरन्तरको वृद्धि देखिएको छ ।
त्यस्तै शनिबार अमेरिकामा कोरोनाको कारण एक हजार ४० जनाको मृत्यु भएको छ । यससँगै समग्र मृत्यु हुनेको संख्या दुई लाख ३७ हजार ११३ पुगेको छ । गत नोभेम्बर १ मा अमेरिकामा कोरोनाबाट ४०१ जनाको मृत्यु भएको थियो ।
त्यसयताको एक सातामा अमेरिकामा एकैदिनमा मृत्यु हुनेको संख्या १२ सयसम्म पुगेको थियो । अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको मुलुक हो ।
प्रतिक्रिया दिनुहोस्