काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले प्रदान गरेको दशककै उत्कृष्ट खेलाडी अवार्ड अस्ट्रेलियाका स्टेभेन स्मिथ, भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र अफगानिस्तानका कप्तान रासिद खानले जितेका छन्।
अस्ट्रेलियाका स्मिथले आइसिसी पुरुष टेस्ट क्रिकेटर अफ डिकेडको अवार्ड जितेका हुन्। उनले भारतका विराट कोहली, इंग्ल्यान्डका जेम्स एन्डर्सन, श्रीलंकाका रंगना हेराथ, इंग्ल्यान्डका जोइ रुट, पाकिस्तानका यासिर शाह र न्युजिल्यान्डका केन विलियम्सनलाई पछि पार्दै अवार्ड पाएका हुन्।
त्यस्तै, भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले दुई वटा अवार्ड जितेका छन्। विराटले आइसिसी पुरुष क्रिकेटर अफ द डिकेड र आइसिसी पुरुष एकदिवसीय क्रिकेटर अफ द डिकेड अवार्ड जितेका हुन्।
आइसिसी पुरुष क्रिकेटर अफ द डिकेडमा भारतका कप्तान विराट कोहलीले भारतकै रविचन्द्रन अश्विन, इंग्ल्यान्डका जोइ रुट, श्रीलंकाका कुमार सांगाकारा, अस्ट्रेलियाका स्टेभ स्मिथ, न्युजिल्यान्डका कप्तान केन विलियम्सन र दक्षिण अफ्रिकाका एबी डिभिलियर्सलाई उछिन्दै अवार्ड जितेका हुन्।
यस्तै, विराटले आइसिसी पुरुष एकदिवसीय क्रिकेटर अफ द डिकेडमा भारतकै पूर्वकप्तान महेन्द्रसिंह धोनी, रोहित शर्मा, श्रीलंकाका लासिथ मालिंगा, कुमार सांगाकारा, अस्ट्रेलियाका मिचेल स्र्टाक र दक्षिण अफ्रिकाका एबी डिभिलियर्सलाई पछि पार्दै अवार्ड जितेका हुन्।
त्यस्तै, अफगानिस्तानका कप्तान रासिद खानले आइसिसी पुरुष टि–२० क्रिकेटर अफ द डिकेडको अवार्ड जितेका छन्। उनले अस्ट्रेलियाका कप्तान आरोन फिन्च, वेष्ट इन्डिजका क्रिस गेल, भारतका विराट कोहली, रोहित शर्मा, श्रीलंकाका लासिथ मालिंगा र दक्षिण अफ्रिकाका इमरान ताहिरलाई पछि पार्दै अवार्ड जितेका हुन्।
प्रतिक्रिया दिनुहोस्