कोरोना महामारीका कारण विगत लामो समयदेखि बन्द भएको नेपाल भारत सिमानाका खोल्नुपर्ने माग गर्दै महोत्तरीको जलेश्वरमा आज (सोमबार) धर्ना दिइएको छ ।
नेपाली काँग्रेस जलेश्वर नगर कमिटीको आयोजनामा जलेश्वरको खैरा चौकमा आधा घण्टा सडकमा धर्ना दिइएको हो । महोत्तरीको सिमानाका खुलाउनका लागी यो आन्दोलन गरिएको नेपाल बिद्यार्थी संघ महोत्तरीका अध्यक्ष आशुतोष झा नविनले जानकारी दिए ।
जनजीवन सहज भएपनि महोत्तरीका सीमा नाका कुन कारणले बन्द गरिएको हो भने जवाफ तत्काल संघीय सरकारले दिनुपर्ने बिद्यार्थी नेता झाको तर्क थियो । धर्नामा सहभागी नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले संघिय सरकारले महोत्तरीको सिमानाका अबिलम्ब खुला नगरे नाकाको बैरियर हटाइदिने चेतावनी दिएका थिए ।
नेपाली काँग्रेस जलेश्वर नगरकमिटीका सभापति अशोक कुमार साहको नेतृत्वमा आयोजित धर्ना कार्यक्रममा सहभागीहरुले सरकारले लकडाउनलाई खुकुलो पारेपनि महोत्तरी जिल्लाको मुल नाका मलिवारा (भिठ्ठामोड) भन्सार र सहयोगी नाकाहरु अहिलेसम्म पुर्ण रुपमा बन्द नै रहेको दुःखेसो सुनाए । सिमा बन्द रहेकोले नेपाल भारत सीमा सँग जोडिएका जिल्लाहरुमा जनजीवनमा दैनिकी समस्याहरु थपिदैं गइरहेको उनीहरुले बताए ।
धर्नामा सहभागीहरुले नेपाल भारतको मलिवारा (भिठ्ठामोड) प्रमुख नाका सुचारु गर, महोत्तरी जिल्लाको प्रमुख र सहायक बन्द सिमानाकाहरु सुचारु गर, कृषकहरुलाई मल र विउ–विजनको व्यवस्था गर लगायतका नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए ।
धर्नामा नेपाली काँग्रेसका नेता एवं पुर्व केन्द्रिय सदस्य रामचन्द्र तिवारी, नेपाली काँग्रेस महोत्तरीका पूर्व सचिव बजरंग नेपाली, वर्तमान सचिव शम्भु पाठक , क्षेत्रीय सभापति राघवेन्द्र झा, तरुण दलका जिल्ला अध्यक्ष विनय यादव, नेपाली काँग्रेसका जिल्ला सदस्य प्रवेन्द्र पाठक, नेविसंघका निवर्तमान केन्द्रिय सदस्य विजय राय, नेविसंघका जिल्ला अध्यक्ष आशुतोष झा नवीन, तरुण दलका क्षेत्रिय सभापति दिलिप पाण्डे, नेविसंघका नेता राममिलन यादव, निवेश मण्डल, आदित्य साह, बादल कुमार साहलगायतकाहरु सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्