जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले देशभरमा ७७ वटै जिल्लामा बुधबार प्रदर्शन गरेका छन।
प्रदेशको अस्थायी राजधानी धनुषा सदरमुकाम जनकपुरधामसहित सप्तरी सदरमुकाम राजविराज, सिराहा सदरमुकाम सिराहा, महोत्तरी सदरमुकाम जलेश्वर, सर्लाही सदरमुकाम मलंगवा, रौतहट सदरमुकाम गौर, बारा सदरमुकाम कलैया र पर्सा सदरमुकाम बीरगन्जमा जसपाले ७७ जिल्ला का सदरमुकाममा प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा नेता कार्यकर्ताले प्रधानमन्त्रीले चालेको असंवैधानिक र अलोकतान्त्रिक कदम खारेज गर, केपी शर्मा ओली मुर्दावाद, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, सांसद रेशम चौधरीलगायतका राजबन्दीहरूलाई रिहा गर, झूठो मुद्दा खारेज गरलगायतका नारा लगाएका थिए ।
प्रदर्शन पश्चात सबै जिल्ला सदरमुकाममा कोणसभाको समेत आयोजना गरिएको छ । कोणसभामा बोल्दै नेताहरुले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेर संसद विघटन गरेकाले यो कदम सच्चयाउनु पर्नेमा जोड् दिए ।
प्रदर्शनमा केन्द्रीय, प्रदेश र जिल्लास्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । यस्तै जसपाबाट निर्वाचित प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधिले समेत प्रदर्शनमा सहभागिता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्