काठमाडौं, १५ पुष । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्र्थापना हुन नसक्ने प्रष्ट पार्नु भएको छ ।
आफू पक्षका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेलामा प्रधानमन्त्री ओलीले संविधान अनुसार नै प्रतिनिधिसभा विघटन भएकाले पुनस्र्थापना नहुने बताउनुभयो ।
उहाँले आफू बहुमतको दलको नेता भएका कारण सिफारिस गरेको भन्दै संविधान अनुसार नै राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको बताउनुभयो । यस्तो अवस्थामा अब पुनस्र्थापना गर्न नमिल्ने समेत तर्क गर्नुभयो ।
उहाँले दाहाल र नेपाल पक्षले आफूलाई जनताको भावना अनुसार काम गर्न नदिएका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ अनुसार ६४ प्रतिशत बहुमत भएको दलका नेताको सिफारिसमा प्रतिनिधिसभा विघटन भएकाले यसको पुनस्र्थापनाको कल्पना गर्न नसकिने दाबी गर्नुभयो ।
माधवकुमार नेपाल प्रचण्डको कार्यकर्तामा सीमित
प्रधानमन्त्री ओलीले अब नेपालमा गणतन्त्र, लोकतन्त्र र संविधानलगायतका उपलब्धि खतरामा नपर्ने उल्लेख गर्नुभयो । उहाँले दाहालले सत्तामात्रै खोजेको र वरिष्ठ नेता नेपालले जहिल्यै सम्मानमात्रै खोजेको मुलुकको हित नदेखेको ओलीको भनाइ थियो ।
माधवकुमार नेपालले आफुलाई पदलोलुप नभएको दावी गर्नु हाँस्यास्पद भएको उल्लेख गर्दै नेपाल उधारोमा हुन्न हाताहाती पद चाहिन्छ भन्ने पदलोलुप भएको आरोप पनि लगाउनु भयो ।
नेपालको हैसियत अहिले प्रचण्डको कार्यकर्तामा सीमित भएको बताउँदै प्रधानमन्त्री ओलीले मंगलबार विरोधसभामा गरेको सम्बोधन सुन्दा प्रचण्ड र नेपालको महिलाप्रतिको नजर पनि छर्लङ्ग भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्