काठमाडाैं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘केटो’ भनेर व्यंग्य गरेपछि पूर्वपर्यटन मन्त्री तथा नेकपाको प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले जवाफ फर्काउनुभएकाे छ । शनिबार प्रदेश १ का नेता तथा कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योगेशको नाम नलिई ‘गुनी केटाकेटी’को संज्ञा दिनुभएकाे थियाे ।
‘बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही (योगेश भट्टराई) केटो पो रहेछ,’ प्रधानमन्त्री ओली भन्नुभएकाे थियाे ।
प्रधानमन्त्री ओलीले आफूलाई केटो भनेपछि भट्टराईले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत जवाफ फर्काएउनुभएकाे हाे । उहाँले पनि प्रधानमन्त्रीको नाम नलिइ ‘तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो’ भनेर लेख्नुभएकाे छ ।
उहाँले लैख्नुभएकाे छ- ‘केटा र केटीहरूको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो। केटो भनिपाउँदा मलाई दु:ख छैन। तपाईंको स्तर थाहा पाएँ, खुसी लाग्यो ।’
२०७४ सालको प्रतिनिधि सभा चुनावमा भट्टराईको चुनावी सभामा ओलीले सम्बोधन गर्नुभएकाे थियाे । सम्बोधनका क्रममा ओलीले भट्टराईलाई जनताले जिताएर पठाए आफूले मन्त्री बनाएर पठाउने बताउनुभएकाे थियाे ।
ओली क्याबिनेटमा पर्यटन मन्त्री रहेका भट्टराईले पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सामूहिक राजीनामा दिनुभएकाे थियाे । भट्टराई २०७६ साउन १५ गते पर्यटन मन्त्रीमा नियुक्ति हुनुभएकाे थियाे । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि भट्टराईलाई मन्त्री बनाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्