धनगढी। एक विद्यार्थीलाई ग्रेडरले किचेर मारेको घटनामा न्याय माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरे पनि त्यसको उल्लंघन गर्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमाथि दमन गर्दै प्रहरीले डेढ दर्जन सेल अश्रुग्यास प्रहार गरेको छ ।प्रहरीले एक दर्जन विद्यार्थी र स्थानीय महिलालाई नियन्त्रणमा लिएको छ । साथै अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारी विद्यार्थीहरुलाई तितरबितर पारेको छ ।
बिहीबार बिहान स्कुल गइरहेकी १५ वर्षीया बालिका चेतना साउदलाई धनगढी उपमहानगरपालिका- ५ स्थित पिपलचौतारा नजिक ग्रेडरले किचेर ज्यान लिएको थियो । सो घटनापछि उक्त क्षेत्रमा स्थानीयले प्रदर्शन गरेका थिए । तर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेर प्रदर्शन निस्तेज पार्न खोजेको छ ।
स्थानीय र विद्यार्थीहरुले भने दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन जारी राखेका छन् । क्षतिपूर्ति समेत माग गर्दै मृतक बालिका अध्ययनरत पञ्चोदय माध्यमिक विद्यालयका विद्यार्थी र स्थानीयले प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्