जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वार्ड-६ स्थित अल जामेअतुल हन्फियतुल गौसिया मदर्सामा दिक्षांत समारोहको आयोजना गरिएको छ।
हिजो राती ईस्लाम धर्मावलम्बीहरुको महान पर्व शब-ए-बारात को शुभ उपलक्ष्यमा सो समारोहको आयोजना गरिएको थियो।
शब-ए-बारात प्रत्येक वर्ष हिज्री भित्ते पात्रो (ईस्लामिक क्यालेन्डर) को ८ औं महिना शाबानको १५ औं दिनको रात्रीमा मनाईने पर्व हो। यो पर्वमा रात्री भरी ईस्लामका मान्नेहरु पवित्र कुरान पढ्ने, नमाज पढ्ने, मस्जिद र मदर्सामा गई विभिन्न धार्मिक क्रियाकलाप गर्न लगायत गरिबहरुलाई खाना खुवाउने, दान पुन गरिने आदि जस्ता पुन्य कार्यहरु गरिने गरिन्छ।
शब-ए-बारात को लगभग १५ दिन पछि ईस्लाम धर्मको पवित्र महिना रमजान (रोजा) को एक महिने उपवास बस्ने पर्व शुरु हुन्छ जस पछि ईद-उल-फित्र मनाईन्छ।
पर्व को पावन उपलक्ष्यमा मदरसामा अध्यनरत छात्र मध्ये पहिलो पटक १४ जना विद्यार्थीलाई दिक्षान्त समारोहको आयोजना गरि मौल्वी, हाफिज र कारी शीर्षकमा दस्तारबन्दी गरि उनीहरुलाई शैक्षिक योग्यता प्रदान गरिएको भन्ने जानकारी मदर्सा कार्यसमितिका सदस्य मो: वसिम अकरमले दिएका छन्।
यस्ता कार्यक्रमले बिद्यार्थीहरुमा उत्साह तथा प्रोत्साहन गर्ने कार्य गर्नुका साथै अगामी दिनहरुमा उनिहरु पनि समाजमा शिक्षाको उज्यालोलाई लिएर समाज तथा मुलुकको बिकासमा आफ्नो अमुल्य, अद्भुत तथा अविस्मरणीय योगदान दिने छन् भन्ने आशा र उदेश्य समेत व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्