जनकपुरधाम, साउन २६ — अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले युवा क्षेत्रको नेतृत्वदायी भूमिकाका लागि मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’ प्रदान गरेको छ।
प्रदेश युवा संजाल, मधेश प्रदेशका अध्यक्षसमेत रहेका राईनलाई जनकपुरधाममा आयोजित विशेष कार्यक्रममा खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास र मन्त्रालयका प्रदेश सचिव सुशील कुमार साह तेलीले सम्मानपत्र हस्तान्तरण गरेका थिए।
मन्त्रालयका अनुसार युवा सशक्तीकरण, नेतृत्व विकास, सामाजिक रूपान्तरण तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा मधेशका युवाको प्रभावकारी प्रतिनिधित्व गर्दै पुर्याएको योगदानको कदरस्वरूप राईनलाई उक्त सम्मान प्रदान गरिएको हो।
सम्मान ग्रहण गर्दै राईनले यस उपलब्धिलाई सम्पूर्ण युवाहरूको साझा सम्मानको रूपमा लिएको बताए। उनले युवाको क्षमता विकास, नीति निर्माणमा सहभागिता तथा समाज परिवर्तनका अभियानमा आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
राईन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवा सञ्जालमार्फत युवाका अधिकार, अवसर र नेतृत्व विकासका सवालमा सक्रिय रहँदै आएका छन्।
कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, विकास साझेदार संस्था, युवा संगठन तथा प्रदेशका विभिन्न जिल्लाबाट आएका युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।













