काठमाडौं, साउन २६ — सुनसरी, सप्तरी, सिराहा र धनुषा जिल्लामा मुस्लिम समुदायमाथि भएका तोडफोड, आगजनी तथा हिंसात्मक घटनाका दोषीहरूलाई तत्काल कानुनी कारबाही गरी पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ।
धनुषाको जनकपुरमा मुस्लिम समुदायका अगुवाहरूले माननीय गृहमन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझाउँदै उक्त माग गरेका हुन्। ध्यानाकर्षण पत्रमा सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३ निवासी ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र मेहता तथा आन्दोलनका क्रममा सिराहाको गोलबजारका गणेश यादवको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरिएको छ।
पत्रमार्फत मृतक परिवारसँग गरिएको सम्झौता, नेपाल सरकारद्वारा गरिएको घोषणा तथा क्षतिपूर्तिसम्बन्धी निर्णयहरू यथाशीघ्र कार्यान्वयन गर्न सरकारसँग माग गरिएको छ। साथै हिंसात्मक घटनाबाट प्रभावित परिवार तथा समुदायलाई न्याय सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
मुस्लिम अगुवा नेता हाकिम राइनको अगुवाइमा ओलमा फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष मोहम्मद फारुक बर्कातीको अध्यक्षतामा गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको हो। कार्यक्रममा मुफ्ती उस्मान बर्काती, मौलाना मोहम्मद महबुब राजा, हाजी जाल मोहम्मद, महबुब नजमी लगायत धनुषाका मुस्लिम समुदायका अगुवाहरूको सहभागिता रहेको थियो।
उनीहरूले पीडितलाई न्याय, दोषीलाई कानुनी कारबाही तथा क्षतिपूर्तिको शीघ्र कार्यान्वयनका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै शान्ति, सद्भाव र सामाजिक सहअस्तित्व कायम राख्न समेत आग्रह गरेका छन्।














प्रतिक्रिया दिनुहोस्