• आमिन राईन
जनकपुरधाम, साउन २९ गते।
मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मधेश प्रदेश सभा अगाडि रहेको हनुमान पोखरी क्षेत्रमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ भइरहेको छ। फिल्मका मुख्य कलाकार अभिनाश झा ‘कलकतिया बाली’ को प्रमुख भूमिकासहित प्रसिद्ध हास्य कलाकार राम नारायण ठाकुर, राजेश सक्सेना लगायतका कलाकारहरूको सहभागितामा छायांकन कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ।
सुटिङ हेर्न स्थानीयवासी तथा चलचित्रप्रेमीहरूको उल्लेख्य उपस्थिति देखिएको छ। मिथिला संस्कृति, भाषा र सामाजिक परिवेशलाई समेटिएको यस फिल्मको छायांकनका लागि हनुमान पोखरी क्षेत्रलाई विशेष रूपमा छनोट गरिएको निर्माण पक्षले जनाएको छ।
पछिल्लो समय हनुमान पोखरी क्षेत्र जनकपुरधामको प्रमुख आकर्षणका रूपमा विकास हुँदै गएको छ। मधेश प्रदेश सभाका सभामुख रामअशिष यादव को पहलमा प्रदेश सभा अगाडिको पर्खालमा आकर्षक मिथिला पेन्टिङ, हनुमान पोखरीको सफाइ तथा सौन्दर्यीकरण, साथै सडक किनारमा वृक्षरोपण गरिएपछि यस क्षेत्रको स्वरूप नै परिवर्तन भएको स्थानीयहरू बताउँछन्।
सौन्दर्यीकरणपछि हनुमान पोखरी अहिले आन्तरिक तथा बाह्य पर्यटक, टिकटक तथा सामाजिक सञ्जालका कन्टेन्ट निर्माता, फोटोग्राफर र फिल्मकर्मीहरूको आकर्षणको केन्द्र बनेको छ। विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिहरूका लागि पनि यो क्षेत्र लोकप्रिय बन्दै गएको छ।
यसअघि तत्कालीन नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्षसमेत रहिसक्नुभएका सभामुख रामअशिष यादवको नेतृत्वमा करिब १३ वर्षअघि सुरु गरिएको गंगासागर सरसफाइ अभियान र दैनिक महागंगा आरतीले समेत जनकपुरधामको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको मानिन्छ। गंगासागर क्षेत्र पनि अहिले विभिन्न चलचित्र, म्युजिक भिडियो तथा अन्य दृश्य सामग्रीहरूको छायांकनका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित भएको छ।
स्थानीयवासीहरूका अनुसार जनकपुरधामका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धनसँगै यस्ता गतिविधिले पर्यटन क्षेत्रलाई थप चलायमान बनाएको छ भने स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पारिरहेको छ।













