जनकपुरधाम : खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका कार्यालय प्रमुख राजेश कुशवाहालाई जनमत पार्टीले दुव्यवहार गरेको विरोधमा इन्जिनियर्स एसोसिएसनले जनकपुरधाममा प्रर्दशन गरेका छन् ।
शुक्रवार जनकपुरधामको रामानन्द चौकबाट निस्केको जुलुस नगर परिक्रमा गर्दै जिल्ला प्रशसन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी वन्धु प्रसाद वास्तोलालाई ज्ञापनपत्र वुझाएको छ । उनीहरुले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाउँदै पार्टी अध्यक्ष सिके राउत सहित घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल गिरफ्तार गरी कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् ।
पेशागत रूपमा एक ईन्जिनियर समेत रहेका जनमत पार्टीका प्रमुख राउतको यस कदमले ईन्जिनिरिङ्ग पेशाको गरिमा र मर्यादा हनन गरेकोले उनको नेपाल ईन्जिनिरिङ्ग परिषदको दर्ता प्रमाणपत्र समेत तत्काल खारेज गर्न नेपाल ईन्जिनियरिङ्ग परिपदसँग माग गरेका छन् ।
विभिन्न समय समयमा ईन्जिनियरहरुमाथि हुने हातपात तथा दुर्व्यवहारका घटनाहरुमा दोषीहरु माथि कारवाही नभएकै कारण पटकपटक दोहोरिने गरेकाले नेपाल सरकार उपर दवाब दिन यस घटनाको विरोध गर्न तथा विरोधका कार्यक्रमहरुमा सहभागी भइ एक्यबद्धता प्रकट गर्न सम्पूर्ण ईन्जिनियर वर्गमा अपील गरिएको छ । उनीहरूले आफूहरूको मागलाई वेवास्ता गरिए क्रमबद्ध आन्दोलनका विभिन्न कदमहरु चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
























